काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजालाई गाली गरेर राजनीति गर्ने दिन गएको बताएका छन् ।
ललितपुरको इमाडोलमा शुक्रबार आयोजित क्षेत्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना मात्र हुने बताए ।
‘राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, राजालाई गाली गरेको भरमा केही दल र नेताहरू स्थापित पनि भए’ अध्यक्ष लिङदेनले भने, ‘विगतको अवस्था जस्तै ठानेर राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना हुनेछ । अब राजालाई गाली गरेर राजनीति धान्ने दिन गए ।’
उनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको समेत बताउँदै भने, ‘विद्यमान राजनीतिक प्रणाली र अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक हुन् ।’
उनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गरे ।
अध्यक्ष लिङदेनले बिचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसँगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको बताउँदै भने, ‘न्यायालय समेत भ्रष्टाचारमुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण हो ।’ सभालाई उपाध्यक्ष रोशन कार्की, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवं नायिका रेखा थापालगायत सम्बोधन गरेका थिए ।