काठमाडौँ । रुसले युक्रेनमा ‘हाइपरसोनिक’ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । भूमिगत अस्त्र भण्डारलाई लक्षित गर्दै हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनसँगको जारी युद्धमा रुसले यस प्रकारको हतियार पहिलो पटक प्रहार गरेको हो ।
हाइपरसोनिक क्षेप्यास्त्रको गति आवाजभन्दा कम्तीमा ५ गुणा बढी हुन्छ । तर शनिबार रुसले प्रहार गरेको किन्झाल ब्यालेस्टिक क्षेप्यास्त्रको गति आवाज भन्दा १० गुणा बढी रहेको बताइएको छ । यो क्षेप्यास्त्र १८ सय किलोमिटर परबाट प्रहार गर्न सकिन्छ ।
रुसले गत फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेपछि दुवै देश युद्धमा रहेका छन् । रुसले आफ्नो सीमा जोडिएको युक्रेनको पूर्वी क्षेत्रको विभिन्न सहरहरुमाथि नियन्त्रण कायम गरिसकेको छ । युक्रेनलाई युद्धमा पश्चिम देशहरुले हतियार तथा आर्थिक सहयोग गरेर सघाउँदै आएका छन् ।