एजेन्सी । रूस र युक्रेनबीच विविध विषयहरूलाई लिएर जारी वार्ता थप केही हप्ता लम्बिने सम्भावना बढेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीका अनुसार यी दुई देशबीच जारी युद्धका सन्दर्भमा भइरहेको वार्ता केही समय धकेलिनसक्ने भएको हो । ‘मस्कोको अडान अझै पनि उस्तै रहेको पाइएको छ । सुरक्षा सुनिश्चितता, रूसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ ।’, युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उदृध गर्दै ‘द किभ इन्डिपेन्डेन्ट’ले हिजोको समाचारमा समेटेको छ ।
अस्ति राति पनि रूसी हवाई सुरक्षा प्रणालीले युक्रेनका ६९ सैनिक केन्द्रहरूमा प्रहार गरेको रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले हिजो बताएका थिए । त्यसमा चारवटा कमाण्ड पोस्ट र चार वटा एन्टि–एयरक्राफ्ट मिसाइल प्रणाली रहेका उनको भनाइ छ । यसैबीच, अमेरिकाले भने रुसले प्रयोग गर्ने १०० विमानको मर्मत सम्भारमा प्रतिबन्ध लगाउने भएको छ ।
यीमध्ये एउटा हवाईजहाज रूसी अर्बपति रोमन अब्रामोभिचको भएको द किभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ ।