Logo
Logo

टर्कीले भन्यो-‘युद्ध रोक्न रूस र युक्रेन सहमति नजिक’


3.9k
Shares

एजेन्सी । रूस-युक्रेन जारी द्धन्द्ध रोक्ने सन्दर्भमा चलिरहेको वार्ता सकारात्मक रुपमा अघि बढिरहेको मध्यस्थकर्ता राष्ट्र टर्कीले जनाएको छ ।

टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूका अनुसार द्धिदेशीय युद्धलाई निरन्तरता दिँदै आएका दुवै देश युद्ध रोक्ने विषयमा सहमति नजिक पुगेका हुन् । ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति हुन्छ भन्ने हुँदैन, तर यो अवस्थामा पनि वार्ता भने चलिरहेको छ, वार्ता सहमति नजिक पुगेको छ ।’, उनले भने । गत साता युद्धग्रस्त ती दुवै देश पुगेका चोवाशुग्लूले दुवै पक्ष सम्झौताको नजिक पुगेका दाबी गरे । युद्धमा होमिएका दुवै देशसँग टर्कीको सम्बन्ध बलियो भएकै कारण युद्धलाई पूर्णविराम लगाउन टर्की मध्यस्थकर्ताको भूमिकामा अग्रसर बनिरहेको छ ।

युक्रेनी र रूसी विदेशमन्त्रीलाई टर्कीले गत साता अंकारामा स्वागतसमेत गरेको थियो । दुवै देशको वार्ताकार समितिको सम्पर्कमा टर्की रहेको चोवाशुग्लूले जानकारी दिए । युद्धलाई अन्त्य गराउन आफ्नो मुलुकले इमान्दारीपूर्वक मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको उनले बताए । रूस र युक्रेनबीच ६ बुँदे सहमति प्रस्तावमाथि वार्ता जारी छ । टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनका विदेश नीति सल्लाहकार इब्राहिम कालिनले एक सञ्चारमाध्यमसँगको कुराकानीमा यस्तो जानकारी गराएका थिए ।

युक्रेनको तटस्थता, असैनिकीकरण तथा सुरक्षा सुनिश्चितता, गैर नाजीकरण, युक्रेनमा रूसी भाषा प्रयोगमा अवरोध अन्त्य र पृथकतावादी डोनबास क्षेत्रमा रूसको नियन्त्रण र सन् २०१४ देखि रूसको नियन्त्रणमा रहेको क्रिमियाको स्थिति ६ बुँदाहरूमा समेटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्