काठमाडौं । एनआईसी एशिया बैंकले आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । सहज एवं सबल बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको हो ।
बैंकले चैत्र १ देखि आगामी वर्षको वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको योयोजनामा बैंकका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।
बैंकका अनुसार आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् । यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआईसी एसिया मोबाइल बैंकिङ भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।
साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहक महानुभावलाई पठाएको रेमिट रकम एनआईसी एसिया बैंकबाट सहजै बुझ्न सकिने नवीन सुविधा समेत यस एपमा रहेको छ । यसका लागि ग्राहकले एनआईसी एशिया बैंक भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफुलाई प्राप्त रकम र विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्नेछन् ।
दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत भई डिजिटल रेमिट्यान्स कारोबारको प्रबद्र्धनमा सहयोग मिल्ने विश्वास बैंकले लिएको छ । बैंकको मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।