काठमाडौं । नेपाल प्रहरीमा थपिएका नयाँ पदमा बढुवा गर्न सरकारले प्रहरी नियमावली संशोधन गरेको छ । आइतबारको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
१५ वर्षसम्म एउटै पदमा रहनुपर्ने समस्या समाधान गर्न भन्दै सरकारले प्रहरी नियमावली संशोधन गरी तीन वटा पद थप गरेको थियो । नायब निरीक्षक र इन्सपेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तथा जवान र हवल्दारको बीचमा सहायक हवल्दार र हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार पद थपिएको थियो ।
प्रहरी प्रधान कार्यालयले हालकै ज्येष्ठता कायम गरी बढुवा गर्ने गर्न गृहकार्य गरेको थियो । तर, त्यसरी बढुवा गर्न ज्येष्ठताअनुसारकै अरु नम्बर मिलान नसक्ने अवस्था आएपछि प्रहरी नियमावली संशोधन नै गरिएको हो । गृह मन्त्रालयका अनुसार यसरी थपिएका नयाँ दरबन्दीमा एक पटकका लागि हालकै ज्येष्ठताअनुसार नै बढुवा गर्न लागिएको छ ।
नयाँ नियमावलीअनुसार करिब २० हजार प्रहरी एकैपटक बढुवा हुनेछन् । हाल जवानको दरबन्दीबाट ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुनेछ । जसअनुसार ४६ हजार दुई सय २९ जवानमध्ये १५ हजार चार सय दुईजना सहायक हवल्दार हुनेछन् । तीन हजार सात सय ४७ जना हवल्दार वरिष्ठ हवल्दारमा र एक हजार ७४ जना सइ वरिष्ठ सइमा बढुवा हुनेछन् । प्रहरीको तल्लो तहमा देखिएको बढुवा जामको समस्या हल गर्न नयाँ पद थपिएको हो । समयमा निर्णय नहुँदा उनीहरु मर्कामा परेका छन् । १८ बैशाखमा अवकाश पाउन लागेका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै कार्यकालमा बढुवा गर्ने प्रयासमा छन् । अब यही हप्ता सबै पदमा बढुवा हुने भएको छ ।