काठमाडौं । रुसी फौजको नियन्त्रणमा रहेको युक्रेनको मारिओपोलका केही भूभागमा पहिलोपटक अन्तर्राष्ट्रिय पत्रकारहरू पुगेका छन् ।
रोयटर्स समाचार संस्थाले त्यहाँ प्रलयकारी अवस्था देखिएको भन्दै आवासीय भवनहरू, अपार्टमेन्ट ब्लकहरू जम्मै जलेर काला भएका उल्लेख गरेको छ ।
कैयौँ दिनसम्म भूमिगत आश्रय लिएर ज्यान जोगाएका परिवारहरू बाहिर निस्कँदै गरेको र शवहरूलाई बाटोकै छेउछाउमा गाडिएको पत्रकारहरूले बताएको बिबिसीले जनाएको छ । जताततै भग्नावशेष मात्र देखिएको र खानेकुरा तथा खानेपानीको अभाव भएको उनीहरूले बताएका छन् ।
त्यहाँको अवस्था वर्णन गर्दै एक स्थानीयवासी नदेज्दा सुखोरूकोभाले बिबिसीसँग भनेकी छन्, ‘गाडी वा केटाकेटीको आवाजविहीन एक मृत सहर जहाँ जलिरहेका घर र यत्रतत्र शव नै शव देखिन्छ ।’ हमलामा परी थुप्रै सर्वसाधारण मारिएका छन् । मारिओपोल लगभग चारैतिरबाट रुसी फौजको घेराबन्दीमा रहेको बताइएको छ ।
रुसी अतिक्रमणअघि मारिओपोलमा साढे चार लाख मानिसको घर थियो । अहिले तीन लाख मानिस बिजुली, ग्यास अथवा पानीको अभावमा बाँच्न बाध्य भएको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।
अधिकारीहरूका अनुसार हमलाका कारण शहरका ८० प्रतिशत घर या त ध्वस्त भएका छन् या त क्षतिग्रस्त भएका छन् ।
आक्रमण जारी रहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका निम्ति पुनः अपील गरेका छन् । तर, त्यस्तो वार्ताले पनि सुरक्षा ग्यारेन्टी तथा संवैधानिक परिवर्तनजस्ता दीर्घकालीन विषयमा सहमति हुन नसक्ने उनले बताएको पनि बिबिसीले उल्लेख गरेको छ ।
सोमबार रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका प्रवक्ताले चाहिँ दुई देशका प्रतिनिधिबीच जारी वार्तामा पर्याप्त प्रगति नभइसकेकाले दुई नेताबीच प्रत्यक्ष वार्ताको समय नआएको उल्लेख गरेका थिए । युक्रेनी वार्ताकार मिखाइलो पोदोल्याकले बीबीसीसँग कुरा गर्दै भौगोलिक अखण्डता तथा सार्वभौमिकताबारे कुनै सम्झौता नहुने बताएका छन् ।