Logo
Logo

चुनावका लागि मात्रै गरिने एकता जनताले स्वीर्काला ?


दामोदर अर्याल

61.7k
Shares

कमरेड घनश्याम,
हार्दिक अभिवादन !
गत हप्ता एउटा राष्ट्रिय दैनिकमा ‘कम्युनिष्ट पार्टीको भविष्य : एकता वा सत्यानाश’ शीर्षकको लामो लेख पढ्ने मौका पाएँ । म सदाकाल कमरेडको पाठक हुँ । शब्द चयनका हिसाबले लेख उत्कृष्ट थियो नै । सार त कम्यनिष्ट आन्दोलनको भविष्यप्रति चिन्ता व्यक्त गर्दै लेखिएको त्यो लेख अत्यन्त लोकप्रिय भयो र धेरै मान्छेहरूले पढे ।

एमालेभित्र रहेर यत्तिको लेख्नु भनेको कम्ती साहसको कुरा होइन, जुन कमरेडले देखाउनुभएको छ, त्यसको निम्ति कमरेडलाई धन्यवाद नभनिरहन सकिँदैन । ‘आइ लभ यु’ को जमातभित्र रहेर यति लेख्नु पनि ठूलो हिम्मतको कुरा हो । हामीलाई थाहा छ, त्यहाँभित्र कमरेडको ठूलो आलोचना हुनेछ ।

लेखको सार भनेको आगामी निर्वाचनमा कम्युनिष्टहरू एक हुनुपर्छ भन्ने हो । यदि, त्यसो भएन भने कम्युनिष्टहरूको सत्यानाश हुनेछ भन्ने नै थियो । चुुनावी दृष्टिकोणले भन्नुपर्दा कमरेडको यो भनाइमा विमति राख्नुपर्ने कुनै कुरा छैन । तर, वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रश्न यो होइन । किनकि, हामीले विगतमा चुनाव जितेकै हो, त्यो पनि लगभग दुईतिहाइको हाराहारीमा । यतिखेर कम्युनिष्ट पार्टीहरूको एकता पनि त्यति महत्वपूर्ण होइन, त्यो पनि हामीले गरेकै हो, त्यो एकता व्यहोरेर नै आएको हो । लगभग दुईतिहाइले निर्माण गरेको सरकार पूरा अवधि टिक्न सकेन ।

नेपालको लगभग ८० प्रतिशत कम्युनिष्टहरूलाई एउटै पार्टीको झण्डामुनि गोलबन्द गर्दा पनि त्यो एउटा पार्टीको रुपमा बाँच्न सकेन, झन् तितरवितर भयो । यस्तो किन भयो ? भन्ने प्रश्नको उत्तर ननिकाली गरिने एकताले पुरानै घटनाहरू फेरि दोहोरिने मात्र हो ।

कमरेड,
कमरेडले भनेजस्तो हाम्रो सत्यानाश अब चुनावपछि हुने होइन, अहिले नै हामी सत्यानाशको बाटोमा छौँ । लगभग दुईतिहाइको केन्द्रीय सरकार र कम्युनिष्टहरूको ६ प्रदेशको सरकार तासको महलझैँ गल्र्यामगुर्लम ढलेको दिन सत्यानाश भएको होइन र ? सत्यानाश त भएकै छौँ, सर्वनाश हुनबाट जोगाउने हो भने चुनावी एकताको गीत होइन, सरकार र पार्टी सञ्चालनमा कसरी त्रुटि भयो भनेर कमरेडले एउटा लामो लेख लेख्नुपर्छ । त्यसबाट निस्कने परिणामले मात्र हामीलाई एकतातर्फ मोड्छ । कार्पेटमुनि फोहर थुपारेर अत्तर छर्नुको के अर्थ हुन्छ र ?

अहिलेजस्तै चुनाव कम्युनिष्टले जित्ने, सरकार कांग्रेसले चलाउने परिस्थिति निर्माण हुँदैन भनेर कसले ग्यारेण्टी गर्ने ? त्यो ग्यारेण्टी नगरी जनतासँग मत माग्ने हाम्रो नैतिक अधिकार रहन्छ ? चुनावी प्रयोजनका लागि मात्र गरिने वाम एकतालाई आम नेपाली जनताले स्वीकार गर्लान् र ?

मानौं, कमरेडले भनेजस्तै चुनावी एकता भयो र फेरि पनि जितियो । तर, विगतमा झँै सरकार सञ्चालन गर्न सकिएन भने त्यो जितको अर्थ विगतभन्दा फरक हुन्छ र ? अहिलेजस्तै चुनाव कम्युनिष्टले जित्ने, सरकार कांग्रेसले चलाउने ! परिस्थिति निर्माण हुँदैन भनेर कसले ग्यारेण्टी गर्ने ? त्यो ग्यारेण्टी नगरी जनतासँग मत माग्ने हाम्रो नैतिक अधिकार रहन्छ ? विगतको निर्मम समीक्षा गरेर दूधको दूध पानीको पानी नगरी चुनावी प्रयोजनका लागि मात्र गरिने वाम एकतालाई आम नेपाली जनताले स्वीकार गर्लान् र ? प्रश्नहरू धेरै छन्, कमरेड ! उत्तर एउटै छ, विगतको निर्मम समीक्षा ।

हामीले त समीक्षा गरेका छौँ । सरकार सञ्चालनमा देखिएको असक्षमता, वाम एकताको बाधक र पार्टी विभाजनको मुख्य कारक केपी शर्मा ओली र उनको समूह हो भन्ने हाम्रो निष्कर्ष छ । यही निष्कर्षका आधारमा हामीले नयाँ पार्टी निर्माण ग¥यौँ । यो भनाइमा सहमत हुने वामपन्थीहरू एक ठाउँमा आउनुपर्छ र चुनावी तालमेल मिलाउनुपर्छ भन्ने हाम्रो मत हो । यो मतमा छलफल गर्न तपाईँ संलग्न हुनुभएको एमाले पार्टी तयार छ ?

कमरेड, तपाईँको चित्त दुखाइ जायज छ र उक्त लेखमा यसरी प्रकट भएको छ, ‘…कांग्रेस एउटा सुनौलो पालकीमा बसेको छ, केही कम्युनिष्टहरूले पालकी बोकेका छन्…’ हामीलाई भन्दा कमरेडलाई धेरै थाहा छ, यो परिस्थिति रहरको विषय थिएन, नेपाली कम्युनिष्टहरूको बाध्यताको उपज हो ।

ओलीले जनप्रतिनिधिमूलक संस्थालाई दुई–दुई चोटी भंग गरेपछि लोकतन्त्रको रक्षाका निम्ति अन्य लोकतान्त्रिक शक्तिहरुसँग हातेमालो गर्नुबाहेक कम्युनिष्टहरुसँग अन्य के विकल्प थियो र ? फेरि कम्युनिष्टहरुले कांग्रेसहरुसँग गरेको सहयात्रा यो पहिलोपटक पनि होइन । हामी कांग्रेससँग विभिन्न लोकतान्त्रिक आन्दोलनमा सँगै हिँडेका छौँ । त्यतिमात्र होइन, थुप्रै पटक सत्ता साझेदारी पनि गरेका छौँ ।

सामाजिक न्याय र समाजवादतर्फको हाम्रो यात्रामा कांग्रेससँग थुप्रै मतभेदहरु छन् । तर, लोकतन्त्रको सवालमा कांंग्रेससँगको सहयात्रा हाम्रो ‘जमिनी हकिकत’ हो । यतिका तथ्य हुँदाहुँदै पनि यसपालिको सहयात्रालाई आकाशै खसेजस्तो गरी प्रचार गरिनु न्यायोचित हुँदैन । त्यसबाहेक कम्तीमा कमरेडजस्तो अध्ययनशील नेताले आफ्नो लेखमा माथिका ती अनुचित हरफहरु उल्लेख नगरेको भए सुनमा सुगन्ध हुन्थ्यो । ती हरफहरुमा हल्का ओलीको गन्ध आएको छ ।

‘…केपी ओलीको उपस्थितिमै ६ महिनासम्म नारा जुलुस गर्दा पनि कसैले चासो राखेर के हो तिम्रो कुरा भनेर सोधेकोसम्म छैन… ।’ माथिका हरफहरु क. घनश्यामको उक्त लेखबाट उद्धरण गरिएको हो । यी हरफहरु सरासर संविधान विरोधी छन् । अदालतमा विचाराधीन मुद्दा संसद्मा छलफलको विषयवस्तु बन्न सक्दैन भन्ने हाम्रो संवैधानिक व्यवस्था हो । लोकतन्त्र र संविधानविरोधी कुराहरु ६ महिना त के ६ वर्ष चिच्याए पनि पूरा हुँदैन । लोकतन्त्र र संविधानको बर्खिलाप गरेर निर्माण गरिने तथाकथित गठबन्धन वाम गठबन्धन हुँदैन, अपवित्र गठबन्धन हुन्छ ।

हाम्रा सबै प्रकारका गठबन्धनहरु नेपालको संविधान र समाजवादी यात्राका सहयोगी हुनुपर्छ । उक्त लेखका माथिका हरफहरु क. घनश्यामको मान्यता नभएर असावधानीपूर्वक उल्लेख भएको हुनसक्ने कुरामा शंकाको सुविधा दिन हामी बाध्य छाँै । सारमा कमरेडको लेखको आशय र नियत राम्रो छ । कम्युनिष्ट आन्दोलनको भविष्यप्रति चिन्ता छ । तर आशय, नियत र चिन्ताले मात्र कम्युनिष्ट आन्दोलन पुनःसंगठित हुँदैन । त्यसका लागि पहलकदमी जरुरी हुन्छ ।

कमरेड, क. माधवकुमार नेपालले लिनुभएको पहलकदमीलाई तपाईंले उक्त लेखमा ‘….ढिलो वा चाँडो कमरेड माधवले कठघरामा उभिएर यसको प्रायश्चित गर्नु पर्नेछ…’ भनेर लेख्नुभएको छ । यी हरफहरुको सत्यता समय कालखण्डले निर्धारण गर्ला, तर माधव नेपाल र उहाँको वरिपरि गोलबन्द भएका कम्युनिष्टहरु विद्रोही चेतना बोकेका कार्यकर्ताहरु हुन् ।

विद्रोहीहरु इतिहासको कठघरामा उभिएर परीक्षा दिन कहिल्यै डराउँदैनन् । हामीलाई थाहा छ, संसारभरका मानव जातिले गरेका राजनीतिक र सामाजिक परिवर्तनहरु विद्रोहीहरुकै पसिना र रगतको इतिहास हो । एउटा असल कम्युनिष्टभित्र सदा विद्रोही चेत हुन्छ भन्ने कुरा कमरेडले नै हामीलाई सिकाउनुभएको थियो । त्यसबाहेक तपाईँले उल्लेख गर्नुभएको ‘गौरवपूर्ण गाथा’ सहितको एमालेलाई प्रचण्डसँग एकता गर्ने नाममा केपी ओलीले विसर्जन गरिसकेको थिए होइन र ?

अहिले हामीबाहेक तपाईँहरु मात्र सामेल हुनुुभएको एमाले कुनै पनि अर्थमा तपाईँ हाम्रो पुरानो एमाले होइन । कानुनी हिसाबले भन्नुपर्दा अहिलेको एमाले अदालती फैसलाले निर्माण भएको हो । राजनीतिक हिसाबले संसद् भंगदेखि संसद् अवरोधसम्मका घटनाहरुको विश्लेषण गर्दा एमाले कोमामा छ भन्दा फरक पर्दैन । त्यसबाहेक त्यो पार्टीको इतिहास र गौरवपूर्ण गाथा त नारायणी किनारमा भएको तथाकथित महाधिवेशनबाट नै समाप्त भइसकेको कुरा त कमरेड आफैँ साक्षी हुनुहुन्छ, हामीले भन्नै पर्दैन ।

कमरेड, हामी अहिले तितरबितर भएका छौँ । यतिखेर कम्युनिष्ट एकता सर्वाधिक महत्वको कुरा हो । तर, कमरेडले भन्नुभएजस्तो चुनावी एकता होइन, न त केपी ओलीले माओवादीसँग गरेको पार्टी एकताजस्तो हो ।

यतिखेर इतिहासले कम्युनिष्टहरुसँग महाबहसको माग गरेको छ । आफ्ना सबै क्रियाकलापहरुको निर्मम र कठोर समीक्षा अहिलेको आवश्यकता हो । समीक्षा र निष्कर्षमा समय लाग्न सक्ला भनेर नै आन्दोलनलाई थप क्षति हुनबाट जोगाउन विद्रोह गर्नुपरेको छ । विद्रोहले आन्दोलनलाई कमजोर बनाउँदैन । विद्रोह र समीक्षापछि निर्मित हुने आन्दोलनले मात्रै गतिभ्रष्ट र मतिभ्रष्ट बनाउन लगानी गर्ने यती, ओम्नी, बतास र मार्सीजस्ता किर्नाहरुलाई आन्दोलनबाट टकटक्याउन सकिन्छ ।

अन्त्यमा, कमरेड घनश्याम भुसाल तपाईँ नेपाली कम्युनिष्ट आन्दोलनले उत्पादन गरेको अत्यन्त प्रतिभाशाली नेता हुनुहुन्छ । म केटाकेटी हुँदादेखि नै तपाईँलाई चिन्छु । केही समय तपाईँसँगै जेल जीवन बिताउने अवसर पनि पाएँ, ती दिनहरू मेरा लागि सुनौला थिए । केपी ओलीले संसद् भंग गरेपछि मन्त्री पदबाट राजनीमा गर्दै तपाईँले नेपाली जनताको तर्फबाट सिंहझैँ गर्जिदै भन्नुभएको थियो, ‘कमरेड केपी ! तपाइसँग अब साइबर स्यालहरु मात्र बाँकी छन् ।’

त्यतिखेर तपाईँको ओजश्वी अनुहार देखेर गर्वले हाम्रो छाती फुलेको थियो । आज तपाईँ हाम्रो बीचमा हुनुहुन्न । टाढा टाढा साइबर स्यालहरुको बीचमा कतै तपाईँ देखिनु हुँदा प्रतिगमनका विरुद्ध आन्दोलनमा लागेकाहरु छक्क परेका छन् । कमरेड मनभित्रैबाट भन्छु, ‘बार्दली ‘बा’को ढोकामा शंकर पोखरेलसँगै तपाईँ उभिएको पटक्कै सुहाएको छैन ।’ एउटा विद्रोही घनश्यामलाई मात्र नेपाली जनताले असाध्य माया गर्छन् ।

तपाईँ उभिएको जमिन अत्यन्त जञ्जर छ । न त्यहाँ सिँचाइको सम्भावना, न त खेतीको नै । तसर्थ विद्रोहको झण्डा उचालेर आउनोस् सडकमा । लाखौँ नेपाली कम्युनिष्ट कार्यकर्ता र जनताहरु घुम्तीमा तपाईँलाई पर्खिरहेका छन् । हाम्रा पसिनाबाट निर्मित, हाम्रो पार्टीमा हामीलाई नै भ¥याङ बनाएर उक्लिएको एउटा मान्छे, जो कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न उद्धत छ, त्यसलाई घोडाबाट उतार्न घनश्यामहरुले प्रयत्न नगर्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलन धेरै पछाडि धकेलिने छ । हामी कमरेडलाई पर्खिरहेका छौँ । बाँकी भेटमा ।
हार्दिक अभिवादनसहित !

दामोदर अर्याल, बर्दिया (केन्द्रीय सदस्य, नेकपा एकीकृत समाजवादी)

प्रतिक्रिया दिनुहोस्