Logo
Logo

ओली मार्क्सवाद भुलेर जातीवादमा लागे


रामप्रित पासवान, पाका कम्युनिष्ट नेता

30.2k
Shares

कबाठमाडौं । पाका नेता रामप्रित पासवानले पाँच दशकभन्दा बढी समय नेपाली कम्युनिष्ट आन्दोलनमा बिताएका छन् । राष्ट्रिय सभाको उपाध्यक्षसमेत भइसकेका पासवान तराई मधेसमा वामपन्थी आन्दोलनका निकै लोकप्रिय र सम्मानित व्यक्तित्वको रुपमा परिचित छन् । पासवानको जोश र जाँगरमा अहिले पनि रत्तिभर कमी आएको छैन । कम्युनिष्ट आन्दोलन बचाउन भन्दै पासवान जनताको घरदैलोमा खटिरहेका छन् । उनी चुनाव चिह्नलाई प्राविधिक विषय मात्रै मान्छन् । मुख्य विषय देश र जनताप्रति समर्पित पार्टीको एजेन्डा भएको उनको बुझाइ छ । पासवानसँग दृष्टिले गरेको कुराकानी प्रस्तुत छः

जीवनको उत्तरार्धमा नेकपा एमालेबाट विद्रोह गरेर किन नेकपा एकीकृत समाजवादीमा लाग्नुभयो ?
नेकपा एमालेमा चरम गुटबन्दी भयो । एमालेको नवौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीलाई जिताउन लागे पनि पछिल्लो समय म तटस्थ बसेको थिए । ओलीकै मान्छेहरूले तपाईं त माधवकुमार नेपालको गुटमा हुनुहुन्छ भन्ने आरोप लगाए । नवौँ महाधिवेशनदेखि नै ओली पार्टी चलाउनुपर्नेमा गुट चलाउन व्यस्त भए । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो । तर, ओलीकै दम्भका कारण नेकपा लामो समय टिक्क सकेन । किन टिक्न सकेन ? त्यसमा को–को दोषी छन् ? दुइतिहाईको सरकार किन ढालियो भन्ने जस्ता प्रश्नको जवाफ ओलीले अहिलेसम्म दिन सकेका छैनन् । ओली व्यक्तिवादमा फस्दै गए । ओलीकै कारण कम्युनिष्ट आन्दोलन तहसनहस हुने अवस्थामा पुग्यो । त्यसकारण एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा लागेको हुँ ।

एमालेमा बस्ने अवस्था नभएर मात्र विद्रोह गर्नुपरेको हो त ?
म २०२७ साल असारबाट कम्युनिष्ट आन्दोलनमा लागेको हुँ । आजसम्म निरन्तर कम्युनिष्ट पार्टीमा आवद्ध छु । सिद्धान्त र विचारको आधारमा कम्युनिष्ट पार्टी चल्नुपर्ने हो । ओलीले त्यसरी पार्टी चलाउन सकेनन् । ओली पार्टी र सरकार नेतृत्व गर्न असफल भए । एमालेमा निष्ठावान कार्यकर्ताको मुल्यांकन हुनै छाड्यो । विचौलिया, माफिया, गैरकम्युनिष्ट नवप्रवेसीले एमाले कब्जा गर्दै गए । समाज र देशका लागि समर्पित भएर लड्ने योद्धाहरू पाखा लाग्नुपर्ने अवस्था आयो । सामन्तविरुद्ध लडेको कम्युनिष्ट पार्टीमा सामन्तहरू नै हावी हुने अवस्था बन्यो । नेतृत्व पनि सामन्तकै पक्षमा ढल्कियो । शोषित र पीडित वर्गका लागि लडेका हामीजस्ता कार्यकर्ता एमालेमा बस्न सक्ने अवस्था भएन ।

ओलीले मात्रै एमाले बिगारेका हुन त ?
समाज परिवर्तनको आन्दोलनमा कम्युनिष्टहरूको ठूलो योगदान छ । हिजो त्याग, तपस्या र निष्ठाको राजनीति हुन्थ्यो । क्रान्ति सफल पार्न रणनीति र कार्यनीतिमा व्यापक छलफल भएर निष्कर्षमा पुगिन्थ्यो । त्यही कारण आन्दोलन सफल भएरै छाड्यो । तर, पछिल्लो समय नेतृत्वले आन्दोलनको मर्म बुझन् सकेनन् । जसका कारण निष्ठावान कार्यकर्ताको मुल्यांकन हुन छाड्यो, निष्ठावान कार्यकर्ता विस्तापित हुँदै गए । व्यक्तिवादी, सुविधाभोगी सोच हावी हुँदै गयो । नेताहरू अवसरवादमा फसे । सुख, सुविधामा लागे । राजनीतिक प्रशिक्षण, रणनीतिक चेतनास्तर बढाउने, वैचारिक खुराक दिने काम हराउँदै गयो । एमाले पछिल्लो समय राजनीतिक दल नभइ स्वार्थी समूहमा परिणत हुँदै गयो ।

एमालेमा विचौलिया, अवसरवादी हाबी भए भन्न खोज्नुभएको हो ?
हो, पार्टी कसरी जन्मियो ? कसरी हुर्कियो ? एमालेको सफलतामा क–कसको योगदान थियो भन्ने कुरा आज मतलव भएन । जस्तासुकै व्यक्ति पनि एमाले बन्ने अवस्था आयो । यस्तो अवस्था आउनु भनेको पार्टीमा वैचारिक स्खलन आउनु हो । एमालेमा अहिले कसको हालिमुहाली छ ? एमालेबाट कस्ता नेता पाखा लाग्दै छन, कस्ता मान्छे एमाले भित्रिदै छन् ? अब एमाले कस्तो पार्टी बन्यो भन्ने घामजतिकै छर्लङ्ग भइसक्यो नि होइन र ?

लामो समयसम्म एउटा चुनावचिह्न लिएर जनतामाझ जानुभयो, अहिले फेरि अर्को चुनाव चिह्न बोक्नुभएको छ । असहज महसुस भएको छैन ?
म कम्युनिष्ट पार्टीमा लागेको पाँच दशकभन्दा बढी भइसक्यो । मैले तुलना गरेर हेरेँ । गतिविधि, क्रियाकलापमा ओलीभन्दा नैतिक रुपमा माधवकुमार नेपाल धेरै माथि लाग्यो । कम्युनिष्ट पार्टीको नीति त राम्रै हुन्छ । मैले गतिविधि र व्यवहार हेरेर एकीकृत समाजवादी रोजेँ । त्यसकारण मलाई एमालेको चुनाव चिह्नप्रति मोह जागेन । किनकि, त्यो चुनाव चिह्न पनि हामीले नै स्थापित गरेका हौँ । अब कलम चुनाव चिह्न पनि स्थापित गर्ने छौँ ।

२०१५ सालको निर्वाचनमा ‘मकै’ चुनाव चिह्नबाट कम्युनिष्टले चुनाव जितेको होइन र ? कम्युनिष्टहरूले धेरै चुनाव चिह्न लिएर निर्वाचनमा गएको इतिहास छ । नेकपा माले हुँदै एमाले भएपछि मात्रै सूर्य चिह्न भएको हो । सूर्य भनेको त एउटा पार्टीको चिह्न न हो । मुख्य कुरो राष्ट्र र जनता हो, पार्टीले बोक्ने एजेन्डा हो । त्यसकारण हामी सूर्य चिह्नमै रहनुपर्छ भन्ने छैन । आफूले मन पराएको पार्टीलाई भोट हाल्नुपर्छ । विचार र व्यवहारलाई ध्यानमा राखेर मत हाल्नुपर्छ । जनताले एजेन्डालाई हेर्छन ।

एमाले एजेन्डाबिहीन बनेकै हो त ?
एमालेको तत्कालीन कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ भन्ने छ । तर, व्यवहारमा एमालेले त्यसलाई पनि लत्याउने काम गर्दै आएको छ । उदाहरणको रुपमा दुई दलीय व्यवस्थामा जाऔँ भन्ने बहस एमालेका महासचिव शंकर पोखरेलले अघि सारेका छन् । मेरो प्रश्न छ– बहुदलीय जनवादमा दुई दल मात्रै हुन्छन ? राजतन्त्र ढालियो, संघीय लोकतान्त्रिक गणतन्त्र आयो । अब हाम्रो यात्रा समाजवाद हुनुपर्छ । बहुदलीय जनवादमा होइन, अब समाजवादी यात्रामा लागौँ भन्ने हिम्मत छ ?

अहिले नेपाली राजनीतिमा सिद्धान्त गौण बनेको हो ?
कम्युनिष्ट पार्टीमा सबैले मार्क्सवाद, लेनीनवाद सिद्धान्त नै अवलम्बन गरेको हुन्छ । तर, व्यवहारमा कसरी उतार्छ भन्ने कुरा हेर्नुपर्छ । केपी ओलीका कारण नेतृत्वको बोल्ने शैली आक्रामक हुने तर, व्यवहारमा केही पनि गर्न नपर्ने छाप परेको छ । नेताहरू विकास निर्माण गरिहाल्ने, समाजमा रुपान्तरण गरिहाल्ने भाषण दिन्छन, तर काम के भयो त ? दुइतिहाई बहुमतको सरकार चलाएका ओलीले के गरे ? भाषणअनुसार व्यवहारमा भयो त ? जननेता मदन भण्डारीले भन्नुभएकै थियो नि– भाषणले चिउरा भिज्दैन । चिउरा दुध वा दहीले भिजाउनुपर्छ । केही भएन भने पानीले भए पनि भिजाउनुपर्छ ।

तर, ओली त देशको कायापलट गर्छु भन्दै छन् नि ?
मैले भने नि, भाषणले मात्रै केही हुँदैन । पार्टीको उदेश्य समाज परिवर्तन गर्दै सामाजिक न्याय स्थापित गर्ने हुनुपर्छ । केपी ओलीको सरकारले के काम गर्न चाह्यो त ? सुखी नेपाली समृद्ध नेपालको नारा व्यवहारमा लागू भयो त ? आर्थिक विकासको गफ दिँदैमा ओलीको समय बित्यो । मानवीय मुल्य र मान्यता, सामाजिक परिवर्तन, सामाजिक न्यायमा ओली पुरै असफल भए । ओली त भाषणमा मात्रै सीमित भए । कुरा मात्रै बढी गरे ।

केपी ओली पछिल्लो समय मधेस केन्द्रित भएको देखिन्छ, मधेसमा एमालेको अवस्था कस्तो छ ?
व्यक्तिगत स्वार्थमा लाग्ने ओली प्रवृत्ति नै हो । अहिले मधेसमा भ्रम छर्न सकिन्छ कि भन्ने उनलाई लागेको हुन सक्छ । यथार्थ त चुनावपछि देखिइहाल्छ नि । मधेस प्रदेशमा एमाले आउदै आउँदैन । म ग्यारेन्टीको साथ भन्छु, मधेसमा एमालेभन्दा एकीकृत समाजवादी निकै ठूलो दल बन्छ । म पछिल्लो सात वर्षदेखि मधेसमै बसिरहेको छु । मेरो जीवनले नेटो काटिसकेको छ । मलाई सांसद, मन्त्री बनौला भन्ने पनि छैन । तर, कम्युनिष्ट आन्दोलन जोगाउन क्रियाशील छु । हिजो पार्टीले मलाई सांसद बनायो, दुनियाँले चिन्यो । म कम्युनिष्ट पार्टीमै रहन्छु । कम्युनिष्ट पार्टीलाई स्थापित गर्न सकेको योगदान गर्न चाहन्छु ।

ओली त वृद्धभत्ता एमालेले दियो, बुढाबुढीले भोट एमालेलाई दिनुपर्छ भन्दै छन् नि ?
वृद्धभत्ता कुन एमालेले दिएको ? मनमोहन अधिकारी, भरतमोहन अधिकारी वा माधवकुमार नेपालको एमालेले हो कि केपी ओली नेतृत्वको एमाले ? त्यतिबेला प्रधानमन्त्री मनमोहन अधिकारी, उपप्रधानमन्त्री माधवकुमार नेपाल र अर्थमन्त्री भरतमोहन अधिकारी हुनुहुन्थ्यो । पार्टीको कार्यकारी प्रमुखमा माधवकुमार नेपाल हुनुहुन्थ्यो । त्यो अल्पमतको सरकार थियो । ९ महिनासम्म चलेको सरकारले कति धेरै काम गरेको थियो । अहिले ओलीले दुई तिहाईको सरकार तीन वर्षभन्दा बढी समयसम्म चलाए । उनले के दिए त ?

त्यसो भए ओलीले कामै गरेनन् त ?
दुई तिहाईको सरकारले सम्पूर्ण जनतालाई केन्द्रमा राखेर काम गर्नुपथ्र्यो । तर, ओली त जातीवाद, नातावाद, कृपावादमा रुमल्लिए । जात र धर्मभन्दा माथि नउठ्ने मान्छे कसरी नेता बन्न सक्छ ? जातको पछि लाग्ने, धर्मको पछि लाग्ने व्यक्तिले देशका लागि केही पनि गर्न सक्दैन । मानवहितको लागि लड्ने नेता नै राजनेता हुन सक्छ ।

नेपालको इतिहासमै पहिलोपटक ओलीको पालामा दलित हत्या भयो । पञ्चायतकाल, राजाको पालामा पनि नभएको दलित हत्या ओलीको पालामा भयो । पहिला पनि छुवाछुत थियो, विभेद थियो तर दलित हत्या भएको थिएन । दलित हिंसा, महिला हिंसा कसको पालामा बढी भयो, ओलीकै पालामा होइन ? माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमा देशबाट जातजातीप्रथा अन्त्य गर्न दलित र गैरदलित बीचमा विवाह हुँदा पुरस्कृत गर्ने नीति ल्याउनुभयो । त्यसले राम्रो परिणाम दिइरहेको थियो । तर, ओलीको सरकारले त्यो बजेट नै काटिदियो । ओलीको त गफ मात्रै हो, व्यवहारमा उनले समतामूलक समाज निर्माण गर्नै चाहदैनन् ।

भनेपछि ओली कम्युनिष्ट होइनन् ?
व्यवहारमा ओली कम्युनिष्ट देखिएनन् । भाषण, गफ धेरै गर्छन, तर काम केही गर्दैनन् । नवौँ महाधिवेशनबाट हामीले नै ओलीलाई नेतृत्वमा ल्याएका हौँ । माधव नेपाललाई वाइपास गरेर ओलीलाई स्थापित गराउन हामी लागेका हौँ । तर, नवौँ महाधिवेशनबाट पार्टीले पारित गरेको विचारमा ओली हिडेनन् । त्यसको ठीक विपरित हिडे । जसले कम्युनिष्ट आन्दोलन नै दुर्घटनामा पर्यो ।

ओलीलाई अध्यक्ष बनाउन भूमिका खेलेकोमा तपाईंलाई अहिले पछुतो छ ?
पक्कै पनि । ठेकेदार, विचौलियासँग ओली नजिक भए । वर्गीय मुद्धा छाडेर हिडे । एमालेको नवौँ महाधिवेशनमा ओलीलाई जिताउन म लगेकै हुँ । तर, ओलीले भाषण मात्रै गरे, काम केही पनि गरेनन् । त्यसले गर्दा अहिले मलाई ठूलो चोट दिएको छ । ओली मार्क्सवाद भुलेर जातीवादमा लागे । मेरै गाउँमा पनि दलित हत्या भयो । हत्यारालाई बचाउन एमालेकै नेता लागे । चर्को भाषण गर्ने, काम केही नगर्ने ओली प्रवृत्ति नै भइसकेको छ । व्यक्तिगत फाइदाका लागि ओली जे पनि गर्न तयार हुन्छन ।

ओली र एमालेको भविश्य कस्तो देख्नुहुन्छ ?
ओलीको यात्रा विसर्जनवादतिरकै हो । ओली प्रवृत्तिको अन्त्य हुन्छ नै । जनता ओलीको भ्रमित भाषणबाट आकर्षित हुनुपर्ने कुरै छैन । जनताको त कुरै छाडौँ, एमालेकै कार्यकर्ताले समेत ओलीको कुरामा विश्वास गर्दैनन् । ओलीको गफ सुन्दा–सुन्दा जनता वाक्क भइसके ।

एकीकृत समाजवादीप्रति जनताको धारणा कस्तो पाउनुभयो ?
नेपाली कम्युनिष्ट आन्दोलन गठन, पुनर्गठनको प्रक्रियाबाट अगाडि बढ्दै आइरहेको छ । पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीलाई डा. केशरजंग रायमाझीले दरबारमा बुझाउने काम गरेका थिए । तर पनि कम्युनिष्ट आन्दोलन समाप्त भएन, बरु झाँगिदै अगाडि बढ्यो । अहिले ओलीको अहंकारका कारण कम्युनिष्ट आन्दोलनमा धक्का लागेको छ । कम्युनिष्ट आन्दोलनका साथै हालसम्म प्राप्त उपलब्धि र व्यवस्था जोगाउने अभियानमा रहेको एकीकृत समाजवादीप्रति जनताको धारणा अत्यन्तै सकारात्मक पाएको छु । चुनावी अभियानमा जनताको घरदैलोमा खटिदा पाएको सद्भाव र जनताले देखाएको आशाले कम्युनिष्ट आन्दोलनमा सक्रिय हुन थप उर्जा मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्