काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहका प्रहरीको लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न नयाँ सिर्जना गरिएका पदमा बढुवा प्रक्रिया सुरु भएको छ ।
नेपाल प्रहरी स्थापना भएदेखि नै तल्लो तहमा लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न तीन पद सिर्जना गरिएको थियो ।
प्रहरी नियमावली, २०७१ लाई नवौँ संशोधन गरी जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरिएको छ ।
सरकारले प्रहरी नियमावली २०७१ लाई संशोधन गरी ‘प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित गरेको थियो । सोहीअनुसार पहिलो चरणमा बिहीबार मात्रै बढुवा सिफारिस भएको हो ।
गृह मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४१९ प्रहरीको बढुवा हुनेछ । उहाँका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकमा एक हजार ४१८, प्रहरी वरिष्ठ हबल्दारमा तीन हजार ७४८ र प्रहरी सहायक हबल्दारमा १५ हजार २५३ जना बढुवा हुनेछन् ।
यीमध्ये पहिलो चरणमा प्रहरी वरिष्ठ नायब निरीक्षकमा १९१, प्रहरी वरिष्ठ हबल्दारमा एक हजार १७३ तथा प्रहरी सहायक हबल्दारमा एक हजार ७५२ जना बढुवा सिफारिस भएका छन् ।
गृहमन्त्री खाँणले लामो समयसम्म वृत्तिविकास हुन नसकेका तल्लो तहका प्रहरीलाई काममा हौसला बढाउन उक्त निर्णय गरी कार्यान्वयनमा लगिएको जानकारी दिए । “लामो समयदेखि तल्लो तहका प्रहरीको बढुवा हुन सकिरहेको थिएन, उनीहरूको बढुवा गरेर वृत्तिविकास गर्न पद थप्ने निर्णय गरेका हौँ, यसमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको ठूलो हात छ”, गृहमन्त्री खाँणले भने । नियमावलीमा व्यवस्था भएअनुसार ज्येष्ठताका आधारमा बढुवा गरिने ।