Logo
Logo

ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक


441
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै विसं २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

ग्लोबल आईएमई बैंकले बर्सेनि आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । चालु वर्ष २०७८ को क्यालेण्डरमा पनि बैंकले नेपालमा रहेका विभिन्न जातजातिका गरगहना र पहिरनलाई क्यालेण्डरमा समावेश गरेको थियो । आउँदो नयाँ वर्षका लागि मध्य तराईको मौलिक संस्कृति मिथिला कलालाई समावेश गरिएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकला प्रवद्र्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि सांस्कृतिक क्षेत्रमा बैंकले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारेको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेण्डरमा समावेश गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए ।
नेपालको मौलिक मिथिला कला तराईको घरघरमा संस्कृतिका रुपमा रहे पनि मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उनको भनाइ छ ।

कार्यक्रममा कलाकार साहले भिडियो सन्देशमार्फत मिथिला कलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए भने अर्का कलाकार ठाकुरले आफूहरुको सृजना र संस्कृतिलाई मुलुकभर पुर्याएकोमा कृतज्ञता व्यक्त गरे । सो अवसरमा बैंक अध्यक्ष ढकालबाट कलाकारद्वयलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्