एजेन्सी। मध्यमेक्सिकोको टिनाजस शहरमा गोली चल्दा २० जना मारिएका छन् ।
मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजना गरिएको एक समारोहमा गोली चल्दा २० जनाको हत्या भएको हो । आइतबार स्थानीय समय अनुसार बिहान साढे १० बजेतिर उत्सवमा भाग लिएकाहरुमाथि गोली चलाइँदा १६ पुरुष र ३ जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो । एजेन्सीका अनुसार घटनास्थलबाट १९ जनाको शव संकलन भएको र एकजनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीले जनाएका छन् । हत्याको कारण खुल्न नसकेकाले अनुसन्धान प्रक्रिया जारी रहेको मिचोआकनको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले जनाएको छ ।