एजेन्सी । श्रीलंकामा डिजलको बिक्री ठप्प भएको छ ।
गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको उक्त दक्षिण एशियाली देशमा हिजोदेखि डिजलको बिक्री ठप्प भएको हो । एजेन्सीका अनुसार विदेशी मुद्रा नहुँदा आयात रोकिएको र भण्डारणको डिजल सकिँदा बिक्री बन्द भएको हो । डिजल अभाव सुरु भएसँगै सार्वजनिक सवारी, उद्योग कलकारखाना र विद्युत् उत्पादन गर्ने प्लान्ट पनि सञ्चालन ठप्प भएको छ । त्यस्तै पेट्रोल पम्प बाहिर कैयौँ किलोमिटरसम्म सवारीको लस्कर लागेको बताइएको छ ।
श्रीलंकाका यातायात मन्त्री दिलम मुनुगामालका अनुसार देशमा सीमित डिजल रहेकाले त्यो अत्यावश्यक काममा मात्रै वितरण हुनेछ । अस्ति दैनिक १० घण्टा लोडसेडिङ गरेको उक्त सरकारले हिजोदेखि दैनिक १३ घण्टा लोडसेडिङ गर्न सुरु गरेको छ । इन्धन र बिजुलीको अभाव खड्किएपछि आक्रोशित नागरिक प्रदर्शनमा उत्रिएका छन् । इन्धन र स्वास्थ्य सामग्री अभाव हुँदा त्यहाँका कैयौँ सरकारी अस्पताल शल्यक्रिया सेवा बन्द गर्न बाध्य भएका छन् ।
यस्तै रसायन आपूर्ति गर्ने बजेट अभावका कारण प्रयोगशालाको कामसमेत ठप्प भएको जनाइएको छ । श्रीलंकाले स्वतन्त्र देशको मान्यता पाएयता पहिलोपटक खराब आर्थिक संकटको सामना गर्नुपरेको एजेन्सीले उल्लेख गरेको छ ।