Logo
Logo

आज पुलिस र मनाङ मस्र्याङ्दी भिड्दै


693
Shares

दमक । झापाको दमकमा जारी दमक गोल्ड कपमा आज नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब मैदानमा उत्रिँदैछन् ।

दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि आज प्रतिस्पर्धा गर्ने भएका छन् । पुलिस सेमिफाइनलमा गोर्खा ब्वाइजलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मनाङ मस्र्याङ्दीले सेमिफाइनलमा माने भञ्ज्याङ दार्जीलिङलाई हराएको थियो । हिजो दमक ३ स्थित खेल मैदानमा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका थिए । पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले आफ्नो टीममा आफ्नै खेलाडी भएका कारण टीमको तालमेल मिल्ने भएकाले जित निकाल्न सहज हुने बताए ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आफूसँग राम्रो खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले अघिलो दमक गोल्ड कपमा उपविजेतामा चित्त बुझाएकाले यसपटक भने आफूहरुले जित निकाल्ने बताए । यसअघि २०७५ मा भएको दमक गोल्डकपको उपाधि पुलिसले जितेको थियो भने मनाङले उपविजेतामा चित्त बुझाएको थियो । खेलाडीलाई हौसला प्रदान गर्न प्रि म्याच कन्फ्रेन्समा पुगेका दमक नगपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले दमकलाई खेलको हब बनाइने बताउँदै दुवै टीमलाई शुभकामना दिएका थिए । आज हुने फाइनल खेल समापनमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने आयोजकले जनाएको छ ।

दोस्रो संस्करणको दमक गोल्डकपको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईंले जानकारी दिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्