एजेन्सी । श्रीलंकाको नयाँ मन्त्रिमण्डलमा नियुक्त भएका चार जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्षद्वारा सोमवार नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
देशले गम्भीर आर्थिक र राजनीतिक संकटको सामना गरिरहेका बेला पुरानो मन्त्रीमण्डलका सबै मन्त्रीले राजीनामा दिएका थिए । यो अवस्थालाई सम्हाल्दै राष्ट्रपति राजपाक्षले नयाँ मन्त्रीमण्डल विस्तार गरेका हुन् । पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्री, जी. एल. पेइरिसले विदेश मन्त्री, दिनेश गुनवर्देनाले शिक्षा मन्त्री र जोन्सटन फर्नान्डोले राजमार्ग मन्त्रीको रूपमा शपथ लिएका राष्ट्रपति कार्यालयका अधिकारीहरूले जनाएका छन् । विपक्षी दलहरू पनि एकताबद्ध रुपमा सरकार गठन गर्न सहमत भए उनीहरूलाई पनि मन्त्रीमण्डलमा समावेश गरिने ती अधिकारीहरुको भनाइ छ । नवनियुक्त मन्त्रीहरूले आइतवार राति पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए ।
आर्थिक अस्थिरता र दक्षिण एसियाली देशमा इन्धनको गम्भीर अभावकाबीच बढ्दो विरोधको आह्वानको जवाफस्वरुप मन्त्रीहरुले यस्तो प्रस्ताव गरेका हुन् । सोमवार राष्ट्रपति राजपाक्षले जारी संकटको समाधान खोज्न सरकारमा सहभागी हुन सबै राजनीतिक पार्टीलाई अपील गरेका छन् ।