एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई राष्ट्र संघको सुरक्षा परिषदबाट हटाउन माग गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरेयता जेलेन्स्कीले पहिलो पटक राष्ट्र संघको सुरक्षा परिषदमा सम्बोधन गर्दै रुसलाई सुरक्षा परिषदबाट हटाउन माग गरेका हुन् ।
अमेरिकाले पनि रुसलाई राष्ट्र संघको मानवअधिकार परिषदबाट हटाइनुपर्ने माग दोहोर्याएको छ । रुसले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपपछि अमेरिका र युरोपेली संघ रुसमाथि थप प्रतिबन्ध घोषणाको तयारी छन् । अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्था, अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने ह्वाइट हाउसका प्रवक्ता जेन साकीको भनाइ छ ।
वाल स्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । बुचामा तीन सय बढी नागरिकलाई यातना दिएको युक्रेनले दाबी गरे पनि रुसले उक्त आरोपलाई अस्वीकार गरेको बीबीसीमा उल्लेख छ ।