काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५० पुगेको छ । उक्त अवसरमा बोल्दै अध्यक्ष गुरुङले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । उनले बैंकलाई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेकोसमेत बताए ।
त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताए । वडाध्यक्ष तुलबहादुर घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गर्दा गाउँपालिकाका ६, ७, ८ र ९ वडा तथा बेँसीसहर नगरपालिकाका केही वडाका बासिन्दाहरु बैंकिङ सेवाबाट लाभान्वित हुने बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालयका प्रतिनिधि, व्यवसायी र स्थानीय बासिन्दाको ठूलो संख्यामा उपस्थिति रहेको थियो । बैंकले मुलुकभर २८८ शाखा, २७४ शाखारहित बैंकिङ सेवा, २५६ एटिएम तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।