Logo
Logo

‘आगामी निर्वाचनमा एमालेको गढ भत्किन्छ’


जयन्ती राई ,उपाध्यक्ष, नेकपा एकीकृत समाजवादी

120.9k
Shares

काठमाडौं । जयन्ती राई २०३६ सालको विद्यार्थी आन्दोलनदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । जिल्ला विकास समितिको पूर्वउपसभापति, पुनस्र्थापित संसद्को सांसद तथा संविधानसभामा सदस्य हुँदै राई अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय उपाध्यक्ष छन् । केपी शर्मा ओलीले संसदसँगै संविधान र व्यवस्था नै मास्न लागेको भन्दै एमालेबाट विद्रोह गर्नेमध्ये राई पनि एक हुन् । पूर्वी नेपालको स्थानीय तह निर्वाचनमा गठबन्धनको अवस्था बुझेर केही दिनअघि मात्रै काठमाडौं फर्केका राईसँग दृष्टिले गरेको कुराकानीः

स्थानीय तहको निर्वाचनमा पूर्वको वस्तुस्थिति बुझेर आउनुभयो ? जनताको मनस्थिति कस्तो पाउनुभयो ?

संविधानको रक्षा गर्दै आर्थिक र सामाजिक रुपान्तरण होस् भन्ने जनताको चाहना छ । त्यो चाहनामा एमाले अध्यक्ष केपी शर्मा ओलीले तातोपानी खन्याएपछि एमालेप्रति जनआक्रोश बढ्दो छ । २०७४ सालको निर्वाचनमा एमालेले अब केही गर्ला भनेरै दुइतिहाई मत दिएका हुन् । त्यसको सदुपयोग एमालेले गर्न सकेन । उल्टै दुइतिहाई मत भएको संसद भंग गरेर प्रतिगामी कदम चाल्यो । त्यसले पनि जनताको मन भाँचिएको छ । नेकपा (एकीकृत समाजवादी)को पक्षमा माहोल बनेको छ । दिनप्रतिदिन अरु पार्टीबाट हाम्रो पार्टीमा आउने क्रम बढ्दो छ । अब देशमा एकीकृत समाजवादीले केही गर्छ भन्ने आशामा जनता रहेका छन् ।

पूर्व त एमालेको गढको रुपमा चिनिदै आएको छ, यसपालि त्यो गढ भत्किन्छ त ?

त्यो गढ कसले बनायो भन्ने पनि हेर्नुपर्छ । कम्युनिष्ट पार्टी निर्माणका लागि धेरैको रगत, पसिना बगेको छ । त्यसैको जगमा देशमा आज संघीय गणतान्त्रिक व्यवस्था छ । तर, ओली एमालेको नेतृत्वमा आएपछि प्राप्त उपलब्धि मास्ने खेलमा लागे । उलपब्धि रक्षा गर्दै जनजीविकाको सवाल सम्बोधन गर्न हामीले एमालेबाट विद्रोह गरेका हौँ । कम्युनिष्ट आन्दोलनलाई बचाउँदै सुशासन, विकास र समृद्धिको यात्रामा हामी लागेका छौँ । हाम्रो उपस्थिति बलियो बनेर आएको छ । आगामी निर्वाचनमा एमालेको विगतको गढ भत्किन्छ ।

एकीकृत समाजवादीको चुनावी एजेन्डा के ?

हामी समाजवादी यात्रामा छौँ । कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्दै विकृति, विसंगति हटाउनुका साथै भ्रष्टाचारीलाई कारबाही गरेर जनतालाई सुशासनको प्रत्याभूति दिन्छौँ । प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक, सामाजिक रुपान्तरण गर्नू आजको प्रमुख आवश्यकता हो । कृषि क्रान्तिमार्फत हामीले विकासको मूल फुटाउनुपर्ने छ । गाँस, बास, कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिने छौँ । जनताको जिवनस्तर हिजोभन्दा आज, आजभन्दा भोलि कसरी समृद्ध बनाउने भन्ने नै हाम्रो चासो हो । सुशासन, विकास र समृद्धि हाँसिल गर्दै समाजवादमा पुग्ने लक्ष्यसहितको घोषणापत्र हामी तयार गर्दै छौँ ।

करिब दुइतिहाई मतसहित प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले घोषणापत्र लागू गरेनन् । बरु, उल्टै दुई-दुई पटक असंवैधानिक रुपमा संसद नै विघटन गरिदिए । घोषणापत्रमा लेख्दैमा त केही नहुने रहेछ नि !

घोषणापत्रअनुसार चल्नु राजनीतिक दलको कर्तव्य हो । तर, ओलीले घोषणा–पत्रलाई रद्दीको टोकरीमा फाल्ने काम गरे । जनताका मुद्धालाई छाडेर विचौलियाको काम गर्न थाले । कम्युनिष्ट आन्दोलनकै बदनाम गरे । संसदमात्र होइन, संविधान र व्यवस्था नै मास्ने काममा ओली लागे । जनजीविकाको विषयमा ओलीको प्राथमिकतामा कहिल्यै परेन । त्यही कारण एमालेबाट विद्रोह गरेका हौँ । हामी घोषणापत्रमा भएका विषय लागू गर्न हरसम्भव प्रयास गर्ने छौँ । कुराले होइन, काम गरेर देश विकास गर्ने छौँ । जनताको जिवनस्तर उकास्ने छौँ ।

तपाईंको कुरामा जनताले कसरी विश्वास गर्ने ?

घोषणापत्रमा एउटा भन्ने अनि चुनाव जितेपछि मनलाग्दी गर्नू राजनीतिक बेइमानी हो । हामी राजनीतिक बेइमानी गर्न सक्दैनौँ । त्यसैले त नयाँ पार्टी स्थापना गरेर जनतामाझ आएका छौँ । नत्र त एमाले छदै थियो नि । हामी एमालेमै हुन्थ्यौँ नि । एमालेले जनताका एजेन्डा छाडेपछि हामी जनताको एजेन्डा बोक्नेहरू एकीकृत समाजवादीमा गोलबन्द भएका छौँ ।

जनतालाई समृद्धिको आश्वासन बाँडेर प्राप्त उपलब्धि नै समाप्त पार्ने काममा ओली लागेका कारण जनताले प्रश्न गर्ने अवस्था बनेको छ । अहिले एमाले त नाम मात्रको भयो । ओलीले घोषणापत्रलाई कागजमा सीमित पारिदिए । नयाँ पार्टीले केही गर्छ भन्ने आशा जनतामा छ । केही गरौँला भनेर नै हामीले नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना गरेका हौँ । अरु पार्टीलाई हेरियो पटक–पटक, अब रोजौँ एकीकृत समाजवादीलाई एकपटक ।

मुख्यकुरा ओली प्रवृत्ति जारैदेखि उखेलेर फालौँ भन्ने नै हो ?

पक्कै पनि । ओली प्रवृत्ति देश र जनताको विरुद्धमा छ । ओली प्रवृत्ति अन्त्य गर्ने अभियानमा हामी छौँ । एमालेकै इमान्दार कार्यकर्ता पनि ओलीले ठिक गरे भनेर जनतामाझ जान सकेका छैनन् । नेतृत्वको विरोध गर्दै चुनावमा भोट माग्नुपर्ने अवस्थामा कस्तो पार्टी बन्ला ?

सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा कति प्रभावकारी होला ?

संविधान र व्यवस्था जोगाउन पाँच दलीय गठबन्धन बनेको हो । ओलीको संविधान र व्यवस्था मास्ने योजना यही गठबन्धनकै जगमा विफल भएको हो । हामी प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकार प्राप्तिको लडाइँमा छौँ । जनताको जिवनस्तर उकास्दै आर्थिक, सामाजिक रुपान्तरण गर्नुपर्ने आवश्यकता छ । यसकारण यो गठबन्धन वडा तहसम्मै कायम गरेर निर्वाचनमा लाग्नुपर्छ । हामी तलसम्मै गठबन्धन संस्कार विकास गर्दै जाने छौँ । गठबन्धनको पक्षमा माहोल पनि बनिरहेको छ ।

पाँचदलीय गठबन्धन एकातिर, एमाले–राप्रपा अर्कोतिर हुने अवस्था छ नि ?

पूर्व मण्डलेहरूको राप्रपालगायतका दलसँग ओलीको घाँटी जोडिएकै छ । अघिल्लो चुनावमा ओलीले राजावादी दल राप्रपाका राजेन्द्र लिङदेनहरुलाई बोकेकै हुन् । अहिले पनि उनले यी प्रवृत्तिका दललाई बोक्छन नै । अहिले एमाले र राप्रपाहरूले प्रतिगामी धारको नेतृत्व गर्छन ।

अघिल्लो चुनावमा कम्युनिष्ट गठबन्धन हुँदा पनि ओली आफू हार्ने डरले झापामा राप्रपासँग मिलेका थिए । ओली राप्रपाको वैसाशी टेकेर चुनाव जित्ने सोचिरहेका छन् । अर्कोतर्फ, हामी पाँच दलीय गठबन्धन अग्रगामी लोकतान्त्रिक धारको नेतृत्व गरेर चुनावमा होमिएका छौँ । आगामी चुनाव प्रतिगामीले जित्ने कि अग्रगामीले भन्ने नै मूल हो । त्यसका साथसाथै स्थानीय चुनाव भएकाले नातागोता, आफन्त र उम्मेदवारको व्यक्तिगत प्रभावको विषयले पनि भूमिका खेल्छ नै ।

एमाले अध्यक्ष ओलीको दाबी त चुनावपछि एकीकृत समाजवादी र माओवादी केन्द्रको अस्तित्व नै रहँदैन भन्ने छ नि ?

म प्रश्न गर्न चाहन्छु– हामीले विद्रोह गरेपछि एमालेले कुन चाहिँ निर्वाचन जितेको छ ? राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचन एमालेले जित्यो ? एमालेले संघीय सरकार र प्रदेश सरकार जोगाउन सक्यो ? ओलीले ओरालो यात्राको पीडा सुनाइरहेका मात्र हुन् । स्थानीय निर्वाचनपछि अस्तित्व जोगाउन सकिने हो कि होइन भन्ने ओलीको चिन्ता मात्र हो । ओली त हिजो पनि संसद विघटन सदर हुन्छ भन्थे ।

हाम्रो पार्टी एकीकृत समाजवादी नै बन्दैन भन्थे होइन र ? त्यस्ता गफाडीको कुरा सुनेर जनताले समय ववार्द गर्न चाहदैनन् । ओली त हाम्रो पार्टी एकीकृत समाजवादी नै बन्दैन भन्थे । एकीकृत समाजवादीमा आएको लहर देखेर ओली बरबराएका मात्रै हुन् । संसद, संविधान र व्यवस्था मास्न लागेका ओलीले अहिले पनि जनतालाई मुर्ख सम्झिरहेका छन् । तर, जनता ओलीले सोचेजस्तो मूर्ख छैनन् । सही र गलत छुट्याउन सक्ने सचेत जनता छन् । जसको जगमा हामी उभिएका छौँ ।

कम्युनिष्ट पार्टी निर्माणका लागि धेरैको रगत, पसिना बगेको छ । त्यसैको जगमा देशमा आज संघीय गणतान्त्रिक व्यवस्था छ । तर, ओली एमालेको नेतृत्वमा आएपछि प्राप्त उपलब्धि मास्ने खेलमा लागे । उलपब्धि रक्षा गर्दै जनजीविकाको सवाल सम्बोधन गर्न हामीले एमालेबाट विद्रोह गरेका हौँ । कम्युनिष्ट आन्दोलनलाई बचाउँदै सुशासन, विकास र समृद्धिको यात्रामा हामी लागेका छौँ । हाम्रो उपस्थिति बलियो बनेर आएको छ । आगामी निर्वाचनमा एमालेको विगतको गढ भत्किन्छ ।

तपाईं महिला संगठनको अध्यक्ष पनि हुनुहुन्छ, राजनीतिमा महिलाको सहभागिता बढाउन के गर्दै हुनुुहुन्छ ?

महिला सहभागिता बढाउने सवालमा मात्रै होइन, कार्यकारी पदमा कसरी महिलाको उपस्थिति बलियो बनाउने भन्नेमा हामी लागिरहेका छौँ । निर्वाचन आयोग, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई हामी ध्यानाकर्षण गराउदै छौँ । अपवादबाहेक उपप्रमुखमा महिला सीमित रहेको अवस्था छ ।

हाम्रो माग ५० प्रतिशत नै प्रमुख हुनुपर्छ भन्ने छ । सदस्य मात्र होइन, वडा अध्यक्ष पनि महिला बनाउनुपर्छ भन्ने छ । एकीकृत समाजवादीले महिला सहभागितालाई उच्च महत्व दिएको छ । एकीकृत समाजवादीले राष्ट्रिय सभामा पाँच मध्ये चारजना महिला उम्मेदवार उठाएर विजयी गराएको छ । हाम्रो पार्टीको पदाधिकारीमा पनि महिलाको उपस्थिति अन्य पार्टीको तुलनामा बढी नै छ । महिलाको उपस्थितिलाई सशक्त बनाउने अभियानमा हामी छौँ ।

तपाईं राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभयो तर, एमालेको अवरोधका कारण बैठक अनिश्चितकालका लागि स्थगित हुँदा बैठकमा सहभागी हुन पाउनुभएको छैन् ? प्रतिनिधि सभाको छाया राष्ट्रिय सभामा पर्नु नपर्ने होइन र ?

सर्वोच्च अदालतमा आफै मुद्धा हाल्ने अनि त्यही विषयमा संसद अवरोध गर्ने काम एमालेले गर्दै आएको छ । संविधान मास्न उद्दत एमाले नेतृत्वका लागि यो जायजै होला । तर, न्यायपूर्ण जनसमुदायले यसलाई गम्भीर रुपमा लिएका छन् । त्यसैको परीणाम एमाले राष्ट्रिय सभामा अहिले खुम्चिएको अवस्था छ ।

एमालेले अवरोध गरेकै कारण हामीले बैठकमा उपस्थिति हुने अवस्था बनेन । कानुनमै परिवर्तन गरेर भएपनि प्रतिनिधि सभाको छाया राष्ट्रिय सभामा पर्न दिनु हुँदैन । हामीले राष्ट्रिय सभाको गरिमा बचाउनुपर्छ । ओलीले त राष्ट्रिय सभाको महत्व नै बुझ्न सकेनन, जसका कारण राष्ट्रिय सभा अवरुद्ध बन्दै आयो । हामी मर्यादा बचाउने गरी अगाडि बढ्ने छौँ । अहिले त अधिवेशन नै अन्त्य भएको छ । नयाँ अधिवेशन सुरु भएपछि हामी मर्यादा बचाउने गरी सशक्त ढंगले प्रस्तुत हुन्छौँ ।

सरकार बजेट निर्माणमा जुटेको छ, आगामी बजेट कस्तो आउनुपर्छ ?

बजेट समाजवादउन्मुख आउनुपर्छ । विशेषगरी, कृषिप्रधान देश नेपालको बजेट कृषिमा केन्द्रित भएर आउनुपर्छ । किसानको पक्षमा बजेट नआएसम्म कृषि क्रान्ति हुन सक्दैन । कृषि क्रान्तिविना नेपालमा समाजवाद सम्भव छैन् । भवन निर्माण, गाडी खरिदजस्ता विषयमा अत्याधिक खर्च अवस्थाको अन्त्य गर्नैपर्छ । अनुत्पादक क्षेत्रमा बजेट कटौती गर्दै उत्पादक कसरी बढाउने भन्नेमा केन्द्रित हुनुपर्छ । बजेटले आत्मनिर्भरताको बाटो खोल्नुपर्छ । अग्र्यानिक उत्पादनलाई प्रोत्साहण गर्नुपर्छ ।

मानवीय विकासमा पनि ध्यान दिनुपर्छ । गास, बास, कपासका साथै स्वास्थ्य, शिक्षा र रोजगारीमा बजेट केन्द्रित हुनुपर्छ । वृद्धवृद्धालाई भत्तामात्र होइन, सम्मानजनक रुपमा जिवनयापन गर्ने वातावरण बनाउनुपर्छ । बजेट जनताले महसुस गर्ने खालको अर्थात जनतालाई धनी बनाउने खालको हुनुपर्छ । युवाहरुलाई स्वदेशमै राख्न रोजगार र स्वरोजगार मुलक कार्यक्रम आउनुपर्छ । अहिले कलेजहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो भएका छन् । त्यसको अन्त्य गर्दै जीवनपयोगी शिक्षामा जोड दिनुपर्छ । जनताको जिवनस्तर उकास्ने र राष्ट्रिय पुँजी बढाउने बजेट ल्याउनुपर्छ ।

अन्त्यमा ?
हामीले गठबन्धन संस्कृतिको विकास गर्दै अगाडि बढ्नुपर्छ । नेपालको इतिहास हेर्ने हो भने एकलौटी सरकार राम्रोसँग टिकेको छैन । सन्तुलित ढंगको अगाडि बढ्नु नै आजको माग हो । त्यसकारण सन्तुलित ढंगले गठबन्धन अगाडि बढ्नुपर्छ । पार्टीगत स्वार्थभन्दा देश र जनताको हितलाई केन्द्रमा राखेर गठबन्धन अगाडि बढ्नुपर्छ । यसरी अगाडि बढ्न सक्यौँ भने निराशामा रहेका जनतामा पनि राजनीतिप्रति उत्साह आउने छ । जनताले कर तिरेपछि सुविधा के भन्ने प्रश्न नउठ्ने गरी काम गर्नुपर्छ । राजनीतिलाई कमाई खाने भाँडो होइन, जनताको सेवा गर्ने थलो बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्