Logo
Logo

कविताको हत्यामा संलग्न सार्वजनिक


567
Shares

उदयपुर । बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलवार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा सुनुवारको शव फेला परेको थियो ।

उनको हत्यामा संलग्नलाई पक्राउ गरी बुधवार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । बेलका–३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलोबुवाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई उनको हत्यामा संलग्न भएको पुष्टि गर्दै पक्राउपछि सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । कोशी जनता माविमा कक्षा १० मा अध्ययरत कविता एसइईको तयारी गर्ने क्रममा मंगलवार बिहान ४ बजे ट्युसन पढ्न स्कुल गएकी र स्कुलमा पनि पुगेकी थिइनन् । उनको शव मंगलवार बिहान ५ः३० बजेतिर घरभन्दा दुई किलोमिटर पर जशोदा खोलाको किनारमा मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल अनुसन्धनाका क्रममा प्रहरीले सरिता र विनोदलाई पक्राउ गरेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताए । कविताको हत्यामा संलग्नमध्ये विनोदलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार कविता र सरिता दुवै कक्षा १० मा कोशी जनता मावि बेलकामा अध्ययन गर्दै आएका प्रहरीले बताएको छ । कविता र सरिताबीच केही द्वन्द्व रहेको र कविताले सरितालाई नराम्रा कुरा गर्ने गरेका कारण सरिताले सहन नसकेर ठूलोबुवाको छोरा विनोद ढकाललाई भनेर कविताको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

मंगलवार बिहान कवितालाई सरिताले मोबाइलमा एसएमएस गरेर चाँडै ट्युसन जान खबर गरेको र सरिताले दाजु विनोदलाई पनि सँगै लिएर पर जंगलसम्म गएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ । बाटोमा कविता र सरिताको भेट भएपछि पछाडिपट्टिबाट विनोदले लुकाएर बोकेको बियरको बोतलले कविताको टाउकामा हानेपछि कविता भूइँमा बेहोस भई लड्न पुगेको र सोही क्रममा सरिता र विनोदले नजिकैको जशोदा खोलाबाट केही ढुंगा बोकेर ल्याई कविताको टाउको र अनुहारमा हानेपछि कविताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतको आदेश अनुसार हत्यामा संलग्न विनोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कविताको हत्याको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा चलाउने तयारी गरेको र सरितालाई भने बालगृहमा राखेर मुद्दा चलाउने तयारी भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्