एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई हतियार उपलब्ध गराउने वाचा गरेका छन् । युक्रेनको राजधानी कीभको भ्रमणमा रहेका जोनसनले युक्रेनलाई १२० बख्तरबन्द गाडी र नयाँ एन्टी–शिप मिसाइल प्रणाली प्रदान गर्ने वाचा गरेका हुन् ।
‘पुटिनको खतरनाक योजना जेलेन्स्कीको अटल नेतृत्व र युक्रेनी जनताको साहसका कारण असफल भएको हुनाले यो सहायता दिइएको हो ।’, बेलायती प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) बाट जारी विज्ञप्तिमा उल्लेख छ । उक्त भ्रमणका क्रममा जोनसनले युक्रेनलाई विश्व बैंकबाट ५० करोड डलर दिने सुनिश्चितता बेलायतले गर्नेसमेत वाचा गरेका छन् । तर, यसका लागि बेलायतको संसद्ले अनुमोदन गर्नुपर्छ । अहिलेसम्म बेलायतले युक्रेनलाई १ अर्ब डलर ऋण सुनिश्चित गरेको छ । यसबाहेक बेलायतले व्यापार बढाउन युक्रेनबाट आयात हुने अधिकांश उत्पादनहरूको करमा समेत छूट दिनेछ ।
यसैबीच, बेलायती प्रधानमन्त्री जोनसनले युक्रेनले कठिनाइहरूलाई पराजित गर्दै रुसी सेनालाई कीभको ढोकाबाट पछाडि धकेलिदिएको बताएका छन् । उनले यो लडाइँमा बेलायत युक्रेनको साथमा रहिरहने प्रतिबद्धतासमेत जनाएका छन् ।