Logo
Logo

भरतपुरमा मेयरका आकांक्षी मनोनयन दर्ता गर्ने कांग्रेसको तयारी


3.1k
Shares

चितवन । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरका आकांक्षी मनोनयन गर्ने तयारी गरेको छ । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेताहरु पार्टीका शीर्ष नेतालाई भेट्न काठमाडौंमा आएकै बेला कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्न लागेका हुन् ।

नेपाली कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई आइतबार र सोमबार मनोनयन दर्ता गर्न समय तोकेको छ ।

कांग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्रअनुसार आइतबार र सोमबार मनोनयन दर्ता गर्ने समय तोकिएको कांग्रेस महानगर सचिव कृष्ण बगालेले जानकारी दिए । उनका अनुसार मनोनयनको सबै तयारी पूरा भइसकेको छ ।

महानगरपालिकाको मेयरको लागि दर्ता शुल्क तीन हजार र उपमेयरका लागि दुई हजार रुपैयाँँ तोकिएको छ । मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले आकांक्षा देखाएका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीसँग गठवन्धन गरेर भरतपुर महानगरको मेयरमा रेनु दाहाललाई जिताएको थियो । तर, सत्ता गठवन्धनमा रहेका कांग्रेस र माओवादीबीच मेयर कसले लिने भन्ने टुंगो लागेको छैन । कांग्रेसले भने कुनै हालतमा महानगरपालिका छाड्न नहुने बरु कांग्रेस एक्लै निर्वाचनमा गएर जित्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्