Logo
Logo

अत्यासलाग्दो भौतिक विकास


सुनिल आङ्बो

49.2k
Shares

आजकाल मेरो गाउँ बिचरा लाग्छ ! एकथान धुले सडकसँग सवथोक साट्यो । भौतिक सुविधा खोजिरहेको मेरो गाउँ सास्ती खेप्न तयार भयो !

कहिलेकाही घाँस–दाउरा गर्दा लड्ने, जंगली जनावरको अञ्जान आक्रमण र हिनडुल गर्दा एकाध ठेस लाग्ने बाहेक अरु दुःख थिएनन् । भिरपाखा, उकाली–ओराली, खोलानाला र मेलापातसँगको सामीप्य साच्चिकै लोभलाग्दो थियो ।

बिडम्बना ! मेरो गाउँले अब मलाई त्यो आनन्द दिन सक्दैन । भौतिक विकासको नाममा मसिहाहरुले कोपरेको मोटर गोरेटो पछ्याउँदै चारपाङ्ग्रे गाउँ छिर्यो, सँगै मेरो गाउँले अस्तित्व गुमायो !
०००

सामान्य बुझाइमा प्रस्तुत अभिव्यक्ति भौतिक विकास विरोधी लाग्न सक्छ । भौतिक सुखको चरम चाहना राख्ने हामीलाई विकासले विनास निम्त्यायो भन्ने नलाग्न सक्छ । तर, वास्तविकता त्यो भन्दा फरक हो ।

एकपटक आँखा चिम्लेर गाउँको नक्सा हेरौं । एउटै गाउँको दुई रुप देखिन्छ । एउटा, प्राकृतिक रुपमा अति सुन्दर । अर्को, विकासको नाममा अति कुरुप ! तर, प्राकृतिक रुपमा सुन्दर गाउँ अब विस्मृतिमा सीमित भयो । आँखा खेलेर हेर्दा देखिने त भ्याक्कुले कोतरेको कुरुप गाउँ मात्र न हो !
०००

विकासको नाममा चिरा–चिरा पारिएको रुट पछ्याउँदै गाउँ छिर्ने चार पाङ्ग्रेले उडाउने धुलो भनिसध्य छैन । बादलले धपक्कै छोप्ने पहाडहरु धुलोले छपक्कै छोप्न थालेको छ ।

भनिन्थ्यो– हरियो वन, नेपालको धन । तर, आज सडकको नाममा मासियो वन । मास्दै वन खन्दै जाँदा सडक, नासियो पानीको प्राकृतिक रुट, अनि सुक्न थाले मूलहरु ।

अबको दृश्य– बटुवाले प्यास मेट्न पानी माग्दा ‘छोरीको पेवा मात्रै छ’ भन्ने दिन टाढा छैन नि ।

भौतिक विकास र प्राकृतिक आनन्द
फेदीमा बसेर सिरान हेर्दा श्वास नै नजोडिएला झै लाग्ने त्यो उकालो यात्राबाट पुछारघरे तुम्बाले छुटकारा त पाए । तर, मोटर चढेर वाक्क–वाक्क गर्दै यात्रा पूरा गर्दा त्यो उकालो छिचोलेपछि वर–पीपलको फेदीमा बसेर लिएको आनन्द कहाँ मिल्दो हो ?

खोलाको पानी मोटरले तानेर आगनसम्मै ल्याइपुर्याइयो धारा । के गर्नु छेउकै सिमसारको जरुवा जस्तो मिठो त नहुने रहेछ । साच्चै हो– घर छेउवको जरुवाले भोके भेट्थ्यो, त्यो नालाबाट ल्याइएको पानीले त प्यासै पो नमेट्दो रहेछ !

प्वाक..प्वाक… हर्न बजाउँदै गाउँ छिरेको मोटर पछ्याउनुछ । वाक्क–वाक्क गर्दै छिनमै नौ डाँडा काट्नु छ । माने डाँडाहरु, चिहान डाँडाहरु, देउरालीहरु, रमिते ढुङ्गाहरु, पाटी अनि पौवाहरु, वास वस्ने ओडारहरु र ओहोर दोहोर गर्ने मुलवाटोहरु अब विराना भए ।

अत्यास लाग्दो भौतिक सुख !
खरले छाएको, ढुङ्गा र माटोले चिठ्याएर लिपेको जस्तो राम्रो र प्राकृतिक वातानुकूल नहुँदो रहेछ कंक्रिटले बनाएको घर । गर्मीमा झनै गर्मी, चिसोमा झनै चिसो । अब त बजारबाटै ‘एसी’ ल्याउनुपर्ने बेला भएछ !

आज बार्दलीमा मौरीको घार छैन, रामदेवको हनी किन्नु परेको छ । दायाँ सिकुवाको पिँढीमा गुन्द्रीले पहुना पर्खदैन, प्लाष्टिकको कुर्सी बेसरम चार खुट्टा टेकेर बसेको छ । अब आगनमा मकैको थाङ्ग्रो हुँदैन, पिस्ने जाँतो हुने कुरै भएन, अन्तै देशमा उत्पादित चामल आइपुगिहाल्छ ।

अब छेवैमा बर्खा धान्न चिठ्याइएको दाउराको चाङ छैन, अन्तैबाट ल्याइने एलपी ग्यास भान्सामा छिरिसक्यो, गर्जो टार्न भन्दै छेउछाउका वन मास्दै गएपछि घाँस दाउराको टन्ठै साफ !

अब घुर्यानमा तरकारी फलाउनु पर्दैन, अरु देशका कृषकले युरिया हालेर फलाएका तरकारी छिनमै आइपुग्छ, गाईभैसी पाल्नु पर्दै प्याकेटका दूध घरमै आइपुग्छ, अब, पहेँलपूर तोरीबारी किन चाहियो ? घरमै आइपुग्छ सनफ्लावर…

चाहना र प्राप्ती
भौतिक विकासले जीवन यापनमा सहजता ल्याउने हो । तर, हामी भौतिक विकासबाट चरम सुखको अपेक्षा राख्छौं । भौतिक सहजतालाई सुखको रुपमा बुझ्ने हामीबाट गल्ती भएको छैन । हामीलाई भौतिक विकासको नाममा भौतिक सुखको सपना देखाउनेहरुबाट गल्ती भएको छ । त्यसैले त भौतिक विकासको नाममा हुँदै आएका कामबाट दुःख खेप्न तयार भएका छौं ।

आज भौतिक विकासको नाममा विनास हुँदा पनि हामी खुसी छौँ । किनकी, भौतिक विकासले निम्त्याउने विनाशको पीडा भोगिसकेका छैनौं ।

हामीलाई सुविधा भोग्न सिकाइयो । तर, तारतम्य नमिलेको भौतिक विकासले विनाश निम्त्याउँछ भन्नेबारे सचेत गराइएन ।

भौतिक विकासको नाममा हाम्रो आत्मनिर्भर जीवनपद्धति धव्त पारियो । आफ्ना कुरामा वितृष्णा जगाएर अरुको कुरामा गर्व गर्ने परिस्थितिमा पुगियो ।

परनिर्भरताको त्यो खतराबाट हामीलाई जोगाउने अवसर थियो । देश विकेन्द्रीकरण भएपछि स्थानीय सरकारहरु बने । ति सरकारहरुबाट सुधार गर्न सकिने धेरै सम्भावना थियो र छ । तर, स्थानीय सरकारहरु बनेपछिको अवस्था झनै निराशाजनक छ ।
०००

भनिन्छ– गाउँ गाउँमा सिंहदरबार । सच्चिकै, सिंहदरबार गाउँ–गाउँ पुगेको छ । अर्थात, सिंहदरबारको चरित्र सर्लक्कै गाउँ छिरेको छ ।

स्थानीय सरकारहरु गठन भएसँगै सिंहदरबारको अधिकार गाउँ–गाउँ पुग्यो भन्न खोजिएको हो । यस अर्थमा गाउँ गाउँमा सिंहदरबार भन्नु अर्थपूर्ण छ ।

शासन संचालनको दृष्टिमा सिंहदरबार बदनाम छ । सिंहदरबार भन्ने वित्तिकै ‘घृणित शासकको अड्डा’ भन्ने भाव पैदा हुन्छ । अनि गाउँ पुगेको सिंहदरबार नि ? यो प्रश्नको सहज जवाफ– काठमाडौंको सिंहदरबार र गाउँ–गाउँका सिंहदरबार उस्तै हुन् !

गाउँका सिंहदरबारका मसिहाहरुको पाँच वर्षे उधुम उपद्रो सकिन लाग्दैछ । तर, बैसाख ३० पछि पनि उस्तै महिसा आउने कुरामा दुईमत छैन । जो आए पनि उधुम उपद्रो नै देख्नुपर्नेछ !
०००

स्थानीय सरकार संचालनको पहिलो पाँच वर्षमा ‘भ्याक्कु आतंक’ हेर्न लायक थियो । जनप्रतिनिधिको रुपमा सरकारको नेतृत्व सम्हाल्न पुगेकाहरु ‘ठेकदार’ भएर निस्के ! डोजर मालिक भए, गाउँ चिरा–चिरा पारेर कार्यकाल पूरा गरे !

आफ्नै कार्यकर्तामार्फत आफैले दर्ता गरेका निर्माण कम्पनीलाई काम दिए । दूध पोखियो कता ? आफ्नै थालीमा !

भौतिक विकास सहजताको दृष्टिले पहिलो आवश्यकता हो । तर, स्थानीय सरकारको विकासे दृष्टि उराठलाग्दो । आफ्नै कम्पनी पोस्ने चाहनामा अन्धाधुन्द गाउँ चिरा–चिरा पारियो ।

पर्यावरणप्रति सचेत केही बाहेक दुःखी कोही छैनन् । मुस्किलले चार पाङ्ग्रे छिर्ने सडक कोरियो । धुलो उडाउँदै ४–५ महिना चल्ने सडकको नक्सा कोरिदा पनि खुसी हुनु परेको छ !
०००

भौतिक विकासको क्रममा वातावरणीय प्रभाव सबैभन्दा महत्वपूर्ण हुन्छ । विकास निर्माणको क्रममा वातावरणी प्रभावभारे सबैभन्दा धेरै ध्यान पुर्याउनुपर्छ । तर, यहाँ त्यस्तो भएन ।

भौतिक संरचना विकासका आधारभूत मूल्यमन्यताहरु छन् । सडक निर्माणका आफ्नै मापदण्ड हुन्छन् । भौतिक संरचना निमार्णपूर्व वातावरणीय प्रभावबारे अध्ययन गर्नुपर्छ । प्रत्यक्ष र दीर्घकालीन प्रभावबारे अध्ययन गर्नुपर्छ । तर, स्थानीय सरकारबाट यी सबै काम भएनन् ।

बतासे विकास अवधारणाका कारण पहाडहरु स्खलनका लागि बर्खेझरी पर्खिरहेको छन् । खेतीयोग्य जमिन खण्डहर बनेका छन् । जीवन यापनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वनहरु मासिँदै गएका छन् । अधिकांश पालिका काकाकुल बन्दैन् ।

भूगर्वविद् भन्छन– ‘प्रकृतिको जैविक सन्तुलन र अन्तरनिर्भर विविधतामा टिकेको हुन्छ । जति धेरै विविधता मासिँदै जान्छ त्यति नै प्रकृति, माटो र सम्पूर्ण जीवन प्रक्रिया विघटित हुँदै जान्छ ।’

यी गम्भीर विषयमा कसको पो ध्यान जाने ?

प्रतिक्रिया दिनुहोस्