एजेन्सी । पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नयाँ मन्त्रिपरिषदमा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरू समेटिएका छन् ।
सोमवार प्रधानमन्त्रीमा निर्वाचित शेहबाज शरिफले मंगलवार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् । बिलावाल भुट्टो जर्दारी विदेशमन्त्री बनेका छन् । त्यसैगरी, आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेवारी मार्यम औराङजाबलाई दिइएको छ । शरिफ नेतृत्वको सरकारलाई उनको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ ।
निवर्तमान प्रधानमन्त्री इमरान खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । शरिफले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा अबदेखि ८ बजे नै सुरु हुनेछ ।