एजेन्सी । श्रीलंका सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उनले प्रदर्शनकारीलाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेका हुन् । श्रीलंकामा चुलिएको आर्थिक संकट तत्काल समाधान गर्न माग गर्दै निरन्तर प्रदर्शन हुँदै आएको छ । अभाव र महँगीविरुद्ध नागरिक सडकमा उत्रिएका छन् । आर्थिक संकट चुलिँदै गएपछि श्रीलंकामा इन्धन, खाद्यान्न र औषधिसहित अत्यावश्यक वस्तु तथा सेवाको अभाव बढ्दै गएको छ ।
प्रदर्शन चर्केपछि सत्तारुढ दलसहित ४१ जना सांसदले राजीनामा दिएसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।