Logo
Logo

नबिल बैंकको नयाँ वर्ष २०७९ क्यासब्याक योजना सुरु


252
Shares

काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ का अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष –युएनसिडीएफ) को सहकार्यमा आधारित ‘क्यूआरकोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन’ परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको हो ।

विशेषगरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवा उद्यमीहरूको प्रवद्र्धन गर्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो । परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्रसंघको परिभाषाअनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ ।

सुरुमा एक हप्ताका लागि सञ्चालन गरिने उक्त योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रतिकारोबार रु २०० र प्रतिदिन प्रतिमर्चेन्ट अधिकतम रु ५०० सम्म क्यासब्याक प्रदान गरिने जनाएको छ । योजना २०७९ वैशाख १ गतेदेखि लागू भएको छ ।

उक्त योजनामार्फत नबिलले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ च्यानलमा भित्र्याउने, उनीहरुलाई डिजिटल वित्तीय समाधान प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ । सन् १९८४ मा स्थापित बैंकले हाल १४६ शाखा, १८० एटिएम र एक हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्