Logo
Logo

राजनीति नगर्ने घोषणा गर्दै एकीकरण


- दृष्टि न्युज/संवाददाता

0
Shares

भद्रपुर, ११ असार । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत संगठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ संगठन नबनाउने उद्घोष गर्दै मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी संगठन एकीकरण भएका छन् ।
एकीकरण भएका संगठनहरुमा तत्कालीन नेकपा माओबादी केन्द्रको भ्रातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन नेपाल स्वतन्त्र कर्मचारी संगठन र नेपाली का्रग्रेसको भ्रातृ संगठन नेपाल वित्तीय कर्मचारी संघ रहेका छन् ।
तीन वटै संगठनले राजनीति नगर्ने आचारसंहिता पारित गर्दै केही दिन अघि संयुक्त महाधिवेशनसमेत सम्पन्न गरेका छन् भने एकीकृत संगठनको नाम ‘एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोस’ हुने निर्णय गरेका छन् ।
सहारा नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथरमा कार्यक्षेत्र रहेको छ र सदस्य संख््याका हिसावले यो नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था हो । यसका सदस्यहरुको सङ्ख्या एक लाख ५० हजार र कर्मचारी संख््या ७०० रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्वअध्यक्ष मोतिखर सञ्जेलले जानकारी दिए ।
नेपाल स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष भवानी सुवेदी, नेपाल वित्तीय कर्मचारी संघका अध्यक्ष शेरबहादुर कटुवाल र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष मोतिखर सञ्जेलले संगठन एकीकरणमा संयुक्त हस्ताक्षर गरेका छन् ।
संयुक्त महाधिवेशनले यादवप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष घिमिरेले विगतमा दलगत आधारमा कर्मचारीहरु छुट्टाछुट्टै संगठित हुँदा संस्थाको भन्दा दलको स्वार्थमा बढी लाग्ने गरेको हुँदा त्यसबाट संस्थालाई नोक्सानी भएको निष्कर्षमा पुगेर लामो छलफलपछि तीन वटै संगठन अब उप्रान्त राजनीति नगर्ने सहमतिका साथ एकीकरण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्