एजेन्सी । म्यानमारको सैन्य सरकारले पर्यटक आगमन खुला गर्ने निर्णय गरेको छ । अधिकांश देशले यात्रामा लगाइएको प्रतिबन्ध धमाधम सहज बनाइरहेका बेला उक्त सरकारले पनि यस्तो निर्णय गरेको हो ।
बीबीसीका अनुसार म्यानमारले पनि अन्तर्राष्ट्रिय पर्यटकलाई आफ्नो देशमा आउन दिने घोषणा गरेको हो । म्यानमार सरकारको उक्त निर्णय पर्यटकका लागि खुसीको कुरा हो । तर, म्यानमारको अवस्था भने अझै जटिल नै छ । म्यानमारले निर्वाचित सरकारलाई ‘कू’ गरेर सैनिक शासन लागू गरेपछि अन्तर्राष्ट्रिय समुदायमा नराम्रो छाप परेको छ । म्यानमारमा कोरोना भाइरसको संक्रमणअघि पर्यटकको संख्या बढ्दोक्रममा थियो । त्यसयता भने पर्यटन क्षेत्रमा असर सुरु भएको हो ।
सैन्य शासन लागू भए पनि म्यानमारका कैयौँ नागरिक त्यसको निरन्तर विरोधमा छन् । दुई वर्षसम्म पर्यटक नआउँदा म्यानमारको बैंकिङ व्यवस्था संकटपूर्ण बन्दै गएको छ र, अर्थतन्त्रसमेत नाजुक अवस्थामा छ । म्यानमारमा सबैभन्दा धेरै पर्यटक चीनबाट जाने गरेका छन् । म्यानमारको विपक्षी पार्टीले भने विदेशी पर्यटकलाई म्यानमारको यात्रा नगर्न अपील गरेको छ ।