एजेन्सी । आर्थिक संकटले सीमा नाघेको श्रीलंकाको स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । अन्तर्राष्ट्रिय निकायबाट तत्काल सहयोग नभए स्वास्थ्य क्षेत्र तहसनहस बन्ने श्रीलंकाली डाक्टरले बताएका छन् ।
बीबीसीका अनुसार सञ्चित रहेका सामग्रीहरु दिनहुँ रित्तिन थाले पनि आयात नहुँदा अब के गर्ने भन्ने अन्यौल बढेकोप्रति डाक्टर चिन्तित बनेका छन् । अस्पतालहरुमा मौज्दात औषधि र मेडिकल उपकरणहरु सकिन थालेकाले उनीहरुले तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन् ।
श्रीलंकाले ८५ प्रतिशत स्वास्थ्य क्षेत्रका सामग्री आयात गर्दै आए पनि आर्थिक संकट चुलिएसँगै अहिले आपूर्ति गर्न समस्या भइरहेको छ । औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियासमेत रोकिन थालेको छ ।
यसैबीच, श्रीलंका सरकारले ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ । छलफल सफल भयो भने श्रीलंकामा आईएमएफबाट झन्डै चार अर्ब अमेरिकी डलर प्राप्त गर्ने आशा गरिएको छ ।