काठमाडौं । संचालकहरू बीचको विवादले डिकेज वाइन कम्पनी संकटमा फसेको छ । शेयर खरिदविक्रिको विवाद चर्किदै गएपछि क्यानरी वाईन एण्ड बेभेरेज प्रालिविरुद्ध प्रहरी, अदालत तथा स्थानीय तहमा उजुरी परेका छन् ।
चन्द्रागिरी नगरपालिका वडा नं –१५ काठमाडौंमा रहेको डिकेज वाइनको फ्याक्ट्री बन्द गराउन चन्द्रागिरी नगरपालिकामा शेयरधनी मृत्युञ्जय जयसवालले निवेदन दिएका छन् । आफुलाई झुक्याएर कम्पनी तत्कालिन संचालकहरु सोमनाथ खनाल र जित बहादुर माझीले कब्जा गरेको उनको आरोप छ । त्यसविरुद्ध उनले जिल्ला अदालत काठमाडौं पनि मुद्दा दर्ता गराइसकेका छन् ।
आफुले कम्पनीको शतप्रतिशत शेयर खरिद गर्दा झुक्याएर अन्य कागजपत्रमा समेत हस्ताक्षर गरी त्यही कागजपत्र कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत लगेर आफुलाई थाहै नदिई कम्पनी बिक्रि गरेको उनको आरोप छ । कम्पनी रजिष्ट्रारको कार्यालयलाई समेत विपक्षी बनाएर उनले मुद्दा दायर गरेका छन् ।
कम्पनी बिक्रि हुँदा कम्पनीका सञ्चालक उपस्थित हुनुपर्नेमा उनलाई थाहा नै नदिई बिक्रि भएको प्रारम्भिक छानबिनमा खुलेको छ । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन थालेको स्रोत बताउँछ । कम्पनी बिक्रि गर्दा जयसवालबाट खनाल र माझीको खातामा पैसा समेत गएको नदेखिनुले पनि यसमा बदमासी देखिएको छ । जबकी १० लाख भन्दा माथिको कारोबार अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने नियम छ ।
जयसवाल कानूनी लडाईमा लागेपछि खनाल र माझी भने केही प्रहरीलाई हात लिएर उनलाई दुःख दिने खेलमा लागेका छन् । बिना पक्राउ पूर्जी धरपकड गर्नेदेखि उनका कर्मचारीलाई समेत धम्काउने गरेका छन् । यस विषयमा समेत गृह मन्त्रालयमा उजुरी परेको छ ।
अर्काेतर्फ जयसवाल कै नाममा शेयरलागत रहेको अवस्थामा यस क्यानरी वाईन एण्ड बेभरेज प्रा.लि द्धारा बिक्रि गरि पैसा लिन बाँकी रहेको स्टार्स एण्ड स्ट्राइप्स लिकर प्रा.लिको संचालक विप्लव लामाले समेतले उधारो तिर्न नमानेको र उल्टै हामीले चाहि पैसा लिनु छ धम्काउने गरेको विषयमा समेत उजुरी परेको छ । जयसवालद्वारा संचालित अन्य कम्पनी आर्या विजनेश कन्सेप्ट प्रा.लिले लिनु पर्ने बजारमा रहेका विभिन्न डिष्ट्रिब्युरहरू सि.वि.वि मल्टिप्रपोज प्रा.लि, कलंकी,भद्रकाली सप्लाई हब पाटन,गोदावरी मार्केटिङ्ग लगायतलाई कम्पनीको कीर्ते पत्र बनाएरु पैसा मागेको विषयमा प्रहरीमा उजुरी परेको छ । कीर्ते र ठगी मुद्दामा काठमाडौं प्रहरीले अनुसन्धान थालेको छ । विवादै विवादको कारण डिकेज वाइन कम्पनी भने बन्द हुने अवस्थामा पुगेको एक कर्मचारी बताउँछन् ।
संकटका कारण कम्पनी बन्द हुने अवस्थामा पुगेको र जयसवालले लगानी गरेलगत्तै व्यापार बढेपछि विवाद चर्किएको ती कर्मचारीको भनाई छ ।