काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिका नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको ओहदाको प्रमाणपत्र स्वीकार गर्दै बाइडेनले अमेरिका र नेपालका साझा मुद्दा अघि बढाउँदै दुई देशबीचको जारी बलियो र चिरस्थायी मित्रता अझ प्रगाढ पार्न चाहेको बताएका हुन् ।
‘यहाँस्थित कूटनितिक समुदायको एक सदस्यका रुपमा तपाईंलाई स्वागत गर्न चाहन्छु’, उनले राजदूत खत्रीलाई भने । अमेरिकी विदेश मन्त्रालयमार्फत राजदूत खत्रीले ओहदाको प्रमाणपत्र रबुझाएका हुन् ।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा नभई कागजी प्रक्रियाद्वारा ओहदाको प्रमाणपत्र बुझाइएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।
राजदूत खत्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नेतृत्वको कार्यकाल सफलता र जनताको खुसीको कामना गर्दै पठाएको शुभकामना सन्देश हस्तान्तरण गरे । राजदूत खत्रीले नेपालको समग्र विकासमा अमेरिकाले निरन्तर गरिरहेको सहयोगका लागि धन्यवाद दिएका छन् ।