काठमाडौं । सशस्त्र प्रहरी बलका केही उच्च अधिकारी र बिचौलिया ३० वर्षे सेवाहद हटाउने चलखेलमा लागेपछि संगठनमा हलचल मच्चिएको छ । आर्थिक चलखेलका आधारमा सशस्त्र प्रहरी नियमावली संशोधन गरी सेवाहदको प्रावधान हेरफेर गर्न लागिएको हो ।
यसको प्रत्यक्ष फाइदा महानिरीक्षक पुष्पराम केसीलाई हुनेछ । तीन साताका लागि महानिरीक्षक नियुक्त भएका उनी ३० वर्षे सेवाहद हटाए थप दुई वर्ष आइजिपी हुनेछन् । ३० वर्षे सेवाहद हटाउने भन्दै केही बिचौलियाले उनलाई प्रभाव पारेको स्रोत बताउँछ ।
जबकी निर्वाचनको मुखमा यस्तो चलखेल गर्न निर्वाचन आयोगले समेत रोक्ने सम्भावना छ । अर्काेतर्फ यस्ता विषयलाई ऐनमार्फत नै टुंगो लगाउन सर्वाेच्च अदालतले पटक पटक आदेश दिएको छ । तर, गृहका केही अधिकारी भने व्यक्तिगत स्वार्थका लागि संगठनलाई बर्बाद बनाई चुनावको मुखमा सरकारलाई समेत बदनाम गराउने खेलमा लागेका छन् । यही मौकामा नेपाल प्रहरीका केही अधिकारी समेत लागेको बताइन्छ । हाल दुवै प्रहरीको नियमावली संशोधन प्रस्ताव अर्थ मन्त्रालयमा पुगेकाले त्यसैमा सेवाहदसम्बन्धि प्रावधान समेत संशोधन गर्ने चलखेल भइरहेको छ । अनेक विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मा यस्तो खेललाई सहयोग गर्छन् कि गर्दैनन् उनको लागि अर्काे परीक्षणको अवस्था छ ।
सुरक्षा निकायमा आइजिपी फेरिने बेला हरेक पटक यस्तो चलखेल हुने तर अन्तिममा असफल हुने गरेको छ ।