काठमाडौँ । फ्रान्सको एवोलिस कम्पनीले उत्पादन गरेको प्राइमेसी –२ कार्ड प्रिन्टर नेपाली बजारमा ल्याइएको छ। एवोलिस फ्रान्सको नेपालको लागी अधिकृत बिक्रेता बारकोड नेपाल इंक प्राली अनामनगरले शुक्रवार भृकुटी मण्डपमा भइरहेको क्यान इन्फोटेक २०२२ मा आयोजित कार्यक्रममा उक्त कार्ड प्रिन्टरको नेपालमा सुरुवात गरेको हो ।
सो प्रिन्टर लञ्ज कार्यक्रममा क्यानका प्रतिनिधि लगायत विभिन्न आइटी कम्पनीसँग सम्बन्धित कम्पनीका प्रतिनिधीहरुको उपस्थिति थियो। एवोलिस कम्पनीको कार्ड प्रिन्टर बिक्री र गुणस्तरका हिसाबले संसारमै प्रसिद्ध छन्। बारकोड नेपालले उक्त कम्पनीका उत्पादनहरू सन् २००८ बाटै नेपालमा बिक्री वितरण गर्दै आएको छ। हालै बिक्रीमा ल्याएको प्राइमेसी –२ कार्ड प्रिन्टरबाट मध्यम र ठुला कार्यालयहरूको आइडी कार्ड, भिजिटर कार्ड, प्रिभिलेज कार्डहरू तत्काल कार्यालयमै छाप्न सकिने कम्पनीले जनाएको छ ।
यो प्रिन्टरले प्रतिघण्टा २ सय ८० वटा रङ्गिन कार्ड छाप्न सक्छ। यस प्रिन्टर मा युभी प्रिन्टिङ, रि–राइटेबल कार्ड प्रिन्टिङ, डबल ले, ओभरले जस्ता विशेष कार्डहरू छाप्ने प्रविधि प्रयोग गरिएको छ। यसमा एक सय वटा कार्ड राख्न मिल्ने ठुलो हुपर राखिएको छ।
प्राइमेसी –२ मा ल्यामिनेटर जोडेर एकै पटक ल्यामिनेटेड कार्ड उत्पादन समेत गर्न सकिन्छ। यस सेरिजमा बैंकिंग कार्डहरू छाप्न आवश्यपर्ने इन्कोडरहरु जडान गर्न मिल्ने गरी डिजाइन गरिएको छ। विश्वका १ सय ४० भन्दा धेरै देशको पहिलो रोजाइमा रहेको एवोलिस कार्ड प्रिन्टर नेपालमा विभिन्न बैङ्क, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न आयोगहरू, सरकारी कार्यालयहरू लगायत स्कुल, कलेज, अस्पतालहरूमा प्रयोग भइरहेको छ।