एजेन्सी । युद्धका कारण देश छाडेका युक्रेनी नागरिक घर फर्किन थालेका छन् । बीबीसीका अनुसार पछिल्ला केही दिनयता युक्रेन–पोल्यान्ड सीमा क्षेत्रमा स्वदेश फर्कने युक्रेनीहरुको लर्को लागेको छ ।
रुसले सुरु गरेको युद्धका कारण अन्य देशमा शरण लिन बाध्य भएकाहरु घर फर्किन थालेपछि सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको जनाइएको छ । युक्रेनकी सांसद लेसिया भास्यलेन्कोका अनुसार स्वदेश फर्कनेहरुका कारण पोल्यान्डसँगको नाकामा सयौँ गाडीको लाम लागेको हो । युद्ध सुरु भएयता अहिलेसम्म ५१ लाख युक्रेनीले देश छाडेका छन् । तर, पछिल्लो समय देश फर्कने बढिरहेका र गएको हप्ता दैनिक ३० हजार जनाका दरले नागरिक युक्रेन प्रवेश गरेका संयुक्त राष्ट्र संघले जनाएको छ ।
देश फर्किएका नागरिकले यसै हप्ता ठूलो सभा गरेर शान्तिका लागि प्रार्थना गर्ने योजना बनाएका बताइएको छ । युक्रेनबाट सबैभन्दा धेरै पोल्यान्डमा २८ लाख, रोमानियामा सात लाख, हंगेरीमा पाँच लाख, मोल्दोभामा साढे चार लाख, रुसमा झन्डै ६ लाख जना नागरिक शरणार्थीको रुपमा पुगेका छन् ।