काठमाडौं । अफगानिस्तानमा तालिबानले भिडियो शेयरिङ्ग एप टिकटक र अनलाइन मल्टिप्लेयर गेम पबजीमाथि प्रतिबन्ध लगाएको छ । यस्ता एपले युवाहरुलाई भ्रमित पारेको भन्दै तालिबानले प्रतिबन्धको घोषणा गरेको हो । तालिबानले ‘अनैतिक सामग्री’ प्रचार गरे टेलिभिजन च्यानलमा पनि प्रतिबन्ध लगाउन सक्ने चेतावनी समेत दिएको छ । यसअघि तालिबानले संगीत, सिनेमा र टेलिभिजन शोहरुमा प्रतिबन्धको निर्णय गरेको थियो ।
गत वर्ष अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै तालिबानले आगामी दिनमा सहज नियम ल्याउने प्रतिबद्धता गरेको थियो । यद्यपि तालिबान पुनः पुरानै शासन प्रणालीतर्फ अग्रसर बनेको र विशेषगरी महिलाअधिकार प्रति थप अनुदार देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
तालिबानका प्रवक्ता इनामुल्लाह समनगानीले पछिल्लो प्रतिबन्ध युवाहरुलाई भ्रमित हुनबाट बचाउन आवश्यक रहेको बताए । यद्यपि यो प्रतिबन्ध कहिलेदेखि कार्यान्वयनमा आउने हो र कहिलेसम्म जारी रहने हो भन्ने विषयमा भने खुलाइएको छैन । गत वर्षको अगष्टमा सरकारमा आएपछि पहिलोपटक तालिबानले कुनै एपमाथि प्रतिबन्धको निर्णय गरेको हो ।