Logo
Logo

पहिरो प्रभावितका लागि सामूहिक बस्ती


- दृष्टि न्युज/संवाददाता

0
Shares

फिदिम, १४ असार । पाँचथरको याङवरक गाउँपालिका–४ फलैँचाका पहिरो प्रभावित स्थानीयवासीका लागि सामूहिक बस्ती निर्माण गरिने भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले पहिरोबाट प्रभावित तथा जोखिममा रहेका परिवारका लागि सामूहिक बस्ती निर्माण गर्ने निर्णय गरेको हो ।
फलैँचामा मङ्गलबार पहिरो गएपछि २५ परिवार विस्थापित भएका थिए । उनीहरुको दीर्घकालीन आश्रयस्थलको व्यवस्था गर्नका लागि समितिले संघीय र प्रदेश सरकारसँग सामूहिक बस्ती निर्माणका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । याङवरकको चिङ्मा, मुक्लाबु, सेपीलगायत बस्ती उच्च जोखिममा रहेकाले त्यहाँका बासिन्दाका लागि स्थायी आश्रयस्थल निर्माण अत्यावाश्यक रहेको उनले बताए । गाउँपालिकाभित्र उचित जमीनको पहिचान गरी सामूहिक बस्ती बसाल्न पहल गरिने गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।
बैठकले पहिरोबाट प्रभावितको सूची तयार पार्न तथा पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न उपाध्यक्ष कमलकुमारी योङहाङको संयोजकत्वमा टोली गठन गरेको छ । पहिरोबाट प्रभावित परिवारलाई गाउँपालिकाले परिचयपत्र उपलब्ध गराउने भएको छ । पहिरो गएको ठाउँमा दर्जनौँको सङ्ख्यामा पशु चौपाया मरेका छन् । पहिरो प्रभावितमध्ये १५ परिवार हाल डुँडेचौरमा खुला स्थानमा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्