काठमाडौं । मुगुको सोरु गाउँपालिका वडा नं. १, जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढी मुल्याङ्कन गरी झुठ्ठा विल बनाई भ्रष्टाचार भएको छ ।
२०७५÷०७६ मा बिनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरे अनुसार कार्य नगरी, भएको कार्यभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरी ८ लाख ८७ हजार ६ सय ५३ रुपैयाँ भ्रष्टाचार भएको हो ।
. यसरी भ्रष्टाचारमा संलक्ष्न डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर वुढथापा, सव–इन्जिनियर गोरसिंह वढुवाल र डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सव–इन्जिनियर (सव–ओभरसियर) रबिन्द्र शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काछदेखि छोटासम्म पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरी बहादुर शाहीले लागत इस्टिमेटमा उल्लेख कार्य नगरी नापी किताब र कार्य सम्पन्न बिलमा लागत इष्टिमेट बमोजिम भएको भनी बढी रकम भुक्तानी लिने कार्य गरी सरकारी वा सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पुर्याएको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर भएको छ ।