Logo
Logo

काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिक किन सुटुक्कै छुटे ?


3.4k
Shares


काठमाडौं । नेपालमा बिजनेश भिसामा बसेर अनलाइन जुवा लगायत शंकास्पद गतिविधिमा संलग्न २२ चिनियाँ नागरिकलाई पक्राउ गरी कारबाही बिना नै छाडेको छ । अध्यागमन विभाग र प्रहरीले पक्राउ गरेकाउ उनीहरुलाई मुद्दा नचलाइ छाडिएको हो ।

पक्राउ परेका चिनियाँबाट बरामद सामान


पक्राउ परेका चिनियाँबाट ३३ वटा ल्यापटप र पाँच सय भन्दा धेरै मोबाइल बरामद गरेको छ । अनलाइन जुवा खेलाउन ती डिभाइस प्रयोग भएको आशंका गरिएको छ ।


पक्राउ परेका २२ मध्ये २१ जना बिजनेश भिसामा लामो समयदेखि बस्दै आएका थिए । एक जना पहिला बिजनेश भिसामा बसेर पछि पर्यटक भिसामा थिए । एक वर्षपहिले नै उनको भिसाको म्याद सकिएको अनुसन्धानमा खुलेको छ । अध्यागमन विभागले उनीहरु अवैध गतिविधिमा संलग्न भएको भन्ने सूचना प्राप्त गरी प्रहरीको सहयोगमा छापा हानेर पक्राउ गरेको हो । तर, दुई दिन थुनामा राखी सोमबार उनीहरुलाई मुद्दा नचलाई तारेखमा छाडिएको छ । उनीहरुबाट बरामद डिभाइसको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मेवारी दिइएको छ । ‘बरामद डिभाइसको फरेन्सिक ल्याबमा परीक्षण गर्छाै,’ सो कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरले भने,‘त्यसपछि के मुद्दामा अनुसन्धान गर्ने भन्ने तय हुन्छ ।’


पक्राउ परेकाहरुले नेपालमा वैदेशिक लगानी ल्याइसकेका थिएनन् । उनीहरुले लगानी ल्याउने प्रतिबद्धता जनाएर बिजनेश भिसा लिएका थिए । तर, नेपालमा व्यवसाय गर्ने भन्दा लामो समय बसेर अनलाइन जुवा लगायतका धन्दा चलाउने मात्र उदेश्य देखिएको अध्यागमन विभाग स्रोत बताउँछ । लगानी नल्याएपनि पटक पटक उनीहरुको बिजनेश भिसा थपिएको थियो । पर्यटक भिसामा एक वर्षमा पाँच महिना भन्दा धेरै बस्न नपाइनेभएपनि यसरी बिजनेश भिसाको दुरुपयोग भएको हो ।

विभागबाट नियमन नहुँदा बिजनेश भिसामा बसेर उनीहरुले गैरकानुननी काम गर्दै आएका हुन् । अध्यागमन नियमावलीमा भिसाको प्रयोजनविपरीतको गतिविधि गरेको खुलेमा कारबाही गर्न सक्ने प्रावधान भएपनि अध्यागमनले अनुसन्धान नै नगरी पुष्टि हुन नसकेको भन्दै उनीहरूलाई तारेखमा छाडेको हो ।


यसअघि पनि बिजनेश भिसामा बसेका चिनियाँहरु सुन तस्करी, डलर तस्करी लगायत अवैध गतिविधिमा पटक पटक पक्राउ परेका छन् । २०७७ को पुसमा प्रहरीले एकैपटक एक सय २२ जना चिनियाँलाई काठमाडौंमा पक्राउ गरेको थियो । उनीहरुलाई चीनले चार्टड विमानमा चीनमा लगी कानून कारबाही गरेको थियो । नेपालमा विदेशीमाथि नियमन र अनुगमन बलियो नहुँदा चिनियाँ लगायत विदेशी नागरिकले अवैध गतिविधिको लागि सेल्टरका रुपमा प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्