Logo
Logo

दलित-दलितबीच नै विभेद !


- दृष्टि न्युज/संवाददाता

0
Shares

मार्तडी, १५ असार । गैरदलितले दलितमाथि उत्पीडन र विभेद गर्दै आएको भन्दै विरोध हुँदै आएको छ । गैरदलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन ।
लोकतान्त्रिक गणतन्त्रमा गैरदलितले दलितले दिएको पानी खाने भएपनि एक दलित अर्को दलितले छोएको पानीसमेत खाने गरेका छैनन् । जिल्लाका पुस्तौँदेखि मान्दै आएका रीतिरिवाज संस्कृति र छुवाछूत, चालचलनलाई अन्त्य गर्न नसक्दै दलित–दलितबीचको विभेद कायमै रहेको दलित अगुवाले बताउने गरेका छन् ।
जिल्लामा बस्दै आएका विभिन्न थरमा दलितबीचको समन्वय भए पनि उनीहरुले एक अर्काको हातको पानीसमेत चल्दैन । ल्वारले नेपाली, सेरालाले कामी, गन्र्धवले कडारालगायतका थर भएका दलितले छोएको पानी र पकाएको खाना मात्र नभई घरभित्र जान नदिने प्रचलनको अन्त्य हुनुपर्ने बूढीगंगा नगरपालिका–३ का नरबहादुर सेरालाले बताए ।
जिल्लामा ल्वार, नेपाली, गन्धर्व, कामी, कडारा, चदारा, उखेडालगायतका थर भएका दलित बसोबास गर्दै आइरहेका छन् । उनीहरु एकअर्काले ल्याएको खानेकुरा खाने गरेका छैनन् । सेरालाले भने, ‘गैरदलितभन्दा दलित दलितबीचको छुवाछूत तथा अन्तरजातीय विभेदको अन्त्य गर्नुपर्छ ।’
गैरदलितले गर्ने व्यवहार र विभेदभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्नुपर्ने बूढीगंगा नगरपालिकाका दलित वर्गले जोड दिएका छन् । उनीहरुले गैर दलितले आफूहरुलाई अपहेलना गरेको पानी छुनसमेत दिएन भन्नुभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्न आवश्यक रहेको अन्तर दलित छुवाछूत अन्तक्र्रिया कार्यक्रममा सहभागी बूढीगंगा नगरपालिका–२ बजेडीकी ललिता ल्वारले बताए । उनले भने, ‘दलितले एकै भान्सामा पकाएको खाना, एकै गाग्रीमा ल्याएको पानी खान नसक्ने हामी दलित वर्गका मान्छेले गैर दलितले छुवाछूत ग¥यो भन्नु गलत सोचाइ हो ।’
ल्वारले खाना, पानी र एकआपसमा विभेद तथा अन्तरदलितको थरको छुवाछूतको अन्त्य गर्नुपर्नेमा जोड दिए । अन्तर दलितबीचको छुवाछूत र विभेद अन्त्य गर्नसके गैरदलितसँग जातीय विभेदविरुद्ध लड्न सहज हुने बूढीगंगा नगरस्तरीय दलित नेटवर्कका अध्यक्ष सचेन्द्र नेपालीले बताएका छन् । उनले गैरदलितभन्दा पनि दलित–दलितबीचको एकता, छुवाछूत तथा विभेदलाई अन्त्य गर्न दलितका नेतृत्व वर्गले अग्रसर हुनुपर्ने अध्यक्ष नेपालीको भनाइ छ ।
अध्यक्ष नेपालीले गैरदलितले गरेको अन्याय र छुवाछूतका अन्तरदलित छुवाछूतलाई न्यूनीकरण गर्न नगरपालिकाले सचेतना कार्यक्रम गर्दै लैजानुपर्ने बताए । बूढीगंगा नगरपालिकाका उपप्रमुख तारा खातीले दलित–दलित अर्थात् अन्तर दलितबीचको छुवाछूत अन्त्य गर्नका लागि नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । उनले नगरपालिकालाई जातीय छुवाछूतमुक्त नगर बनाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।
बूढीगंगा नगरपालिकाको आर्थिक सहयोग तथा बूढीगंगा नगरस्तरीय दलित नेटवर्कले आयोजनामा उक्त अन्तक्र्रिया कार्यक्रम शनिबार सोही नगरपालिका १, २ र ३ वडाका ५५ जना दलितको सहभागिता रह्यो ।

प्रतिक्रिया दिनुहोस्