Logo
Logo

भिसा प्रक्रियामा कुनै परिवर्तन हुँदैन : मलेसिया


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ असार । मलेसिया सरकारले नेपाललगायत १९ मुलुकबाट कामदार लैजाने प्रक्रियामा कुनै परिवर्तन नहुने प्रस्ट पारेको छ । गत १२ कात्तिकमा मलेसियासँग श्रम समझदारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाद्वारा श्रम आप्रवासन नीति परिवर्तन गर्न सक्ने भन्दै त्यहाँको रोजगारी रोकिराखेको बेला मलेसियाको यस्तो भनाइ आएको हो ।
मलेसियाका गृहमन्त्री तानश्री मुहिद्धिन यासिनले विद्यमान भिसा प्रक्रियामा कुनै परिर्वन नहुने र अर्काे व्यवस्था नभएसम्म सबै प्रक्रिया यथावत रहने बताएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
मलेसियाले आफ्नो देशमा आउने पर्यटक र कामदारको भिसा प्रकृयामा कुनै परिवर्तन नगर्ने बताएका हुन् । मलेसियाका पूर्वउप्रधानमन्त्री अहमद जहीद हमिदी पक्राउ परेसँगै उनको कार्यकालमा लागु भएको भिसा प्रक्रियाका सम्बन्धमा जिज्ञासा उब्जिएपछि मलेसियाका गृहमन्त्री तानश्री मुहिद्दीन यासिनले विद्यमान भिसा प्रक्रिया नै यथावत रहने प्रस्ट परेका हुन् ।
‘भिसा प्रक्रिया फेर्ने विषयमा हामी अहिले कुनै निर्णय गर्नसक्ने अवस्थामा छैनौँ । जबसम्म यी संस्थाको विकल्प तयार हुँदैन अहिलेलाई यही प्रक्रिया जारी रहन्छ’ गृहमन्त्री मुहिद्दीनको भनाइ उदृतगर्दै मलेसियाली संचार माध्यमले जनाएका छन् ।
मुहिद्दीनले चिनियाँ पर्यटकलाई लक्षित गर्दै भिसा प्रक्रियाबारे अभिव्यक्ति दिएपनि मलेसियाले सबै देशका लागि एकै प्रकारको भिसा प्रक्रिया लागु गरेको छ ।
नेपालीका लागि रोजगारीको मुख्य गन्तव्य रहँदै आएको मलेसिया २०७५ जेठ २ गतेदेखि बन्द छ । मलेसिया जाने कामदारमाथि अतिरिक्त भार थपिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा प्रक्रिया र स्वास्थ्य परीक्षण गर्ने संस्था एकतर्फी रुपमा खारेज गरेपछि मलेसिया जाने प्रक्रिया ठप्प भएको थियो ।
तर, २०७५ कार्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता सम्पन्न भयो जसले नेपाली कामदार जाने ढोका खोले पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका कारण अहिले सम्म मलेसिया खुल्न सकेको छैन । दुई देशबीच सम्पन्न श्रम सम्झौतामा कामदार आपूर्तिका क्रममा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने उल्लेख छ । यसबीचमा मलेसियाले कामदार आपूर्तिमा आफ्नो तर्फबाट कुनै समस्या नरहेको प्रस्ट पर्दै पटक–पटक नेपाली कामदार पठाइदिन आग्रह गर्दै आएको छ ।
सम्झौतापछि मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले विगतकै प्रक्रियाबाट कामदार आपूर्ति हुने उल्लेख गरेका थिए । तर, सुरक्षा संवेदनशिलता देखाउँदै गृह मन्त्रालयले उनको प्रस्ताव अस्विकार गरेको छ । विगतको भेन्डर परिवर्तन गरेर नयाँ संस्थालाई भिसा प्रक्रियाको जिम्मा दिने श्रम मन्त्रालयको अडान र स्वास्थ्य परीक्षणको जिम्मा पनि नयाँ संस्थालाई दिने मन्त्रालयको अडानका कारण वार्षिक १ लाख बढी नेपालीहरु गइरहेको मलेसिया १३ महिनादेखि बन्द छ ।

प्रतिक्रिया दिनुहोस्