Logo
Logo

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना कुमारीको क्युआर कोडबाट भुक्तानी सुरु


693
Shares

काठमाडौं । कुमारी बैंकसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर प्रणालीबाट सिधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हालै आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विधिवतरूपमा सेवा सञ्चालन गरेका हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताए । यो सेवाको शुरुवातले अब विनानगद तथा झन्झट सेवाग्राहीले छोटो समयमै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अतिथि कुमारी बैंकका डिजिटल बैकिङ विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तनसँगै प्रविधिमैत्री सेवा विस्तार गर्न बैंक सदैब अगाडि बढिरहने कुरामा जोड दिँदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालकिो शुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गरे । आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने भन्दै यस प्रणालीअन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्नासाथ रकमसहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सिधै भुक्तानी गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट क्युआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्