Logo
Logo

नेपाल एयरलाइन्सको व्यवस्थापन नसुधारे सरकारले सहयोग गर्दैन : प्रम ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताउनुभएको छ । निगमको ६१औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।


प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गर्नुभएको छ । ‘वायु सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन ।’

प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नुपर्ने र त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले निगमको व्यवस्थापन तत्काल सुधार गर्नुपर्ने बताउनुभएको छ । आकाशमा उड्नुपर्ने निगमका जहाज सधैँ विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधेँ, नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि’ केही समयअघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकाशमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो ।’

निगमका निर्णयहरु हचुवाका भरमा हुने गरेको प्रधानमन्त्रीले बताउनुभएको छ । ‘गन्तव्य कहाँ हो थाहा छैन, वाइडबडी किनेको छ, पाइलट छैन, जहाज किनेको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस प्रकारका निर्णयले निगम धरासायी हुँदै गएको हो ।’ प्रधानमन्त्री ओलीले जापानको नारिता विमानस्थल र युरोपियन देशहरुमा उडानको तयारी गर्न पनि व्यवस्थापनलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्