Logo
Logo

आइजिपी, चार एआइजीसहित १९ उच्च अधिकारीको अवकाश


45.2k
Shares


काठमाडौं । नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्री, चार एआइजीसहित १९ जना उच्च अधिकारीले अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनीहरुको बिदाई गरिएको छ ।


नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदाई गरेका हुन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह प्रति हार्दिक आभार प्रकट गरे ।


प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्यारउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार प्रकट गर्दै कोभिड–१९ को विषम परिस्थितिमा पनि आम नागरिकको सेवामा सदैव क्रियाशील रही गरेको उच्च कार्यसम्पादनको प्रशंसा गरे । संगठनमा सुधार तथा हितको लागि गरिएको प्रयासहरूमा सबैको सहयोग प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनियुक्त प्रहरी महानिरीक्षकले पनि संगठनको श्रीवृद्धिका लागि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे । सेवा निवृत्तपछि पनि संगठनप्रति सदैव सकारात्मक सोच रहने उल्लेख गर्दै संगठन हितको लागि सदैव क्रियाशील हुने प्रतिवद्धता उनको छ ।


समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका छन् । साथै नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे ।


उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्यारउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे । उहाँहरूले चालेका रणनीतिक कदमहरूले नेपाल प्रहरीको आधुनिकीकरण, अपराध अनुसन्धानमा बैज्ञानिकीकरण, प्रहरी क्षमताको विकास, प्रशासनिक स्वच्छता, आर्थिक पारदर्शिता, बहालवाला तथा पूर्व र अमर तथा अशक्त प्रहरी एवम् उनीहरुका आश्रित परिवारहरूको कल्याण, इतिहासको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भई नेपाल प्रहरीको संस्थागत विकासमा दूरगामी प्रभाव पार्ने विश्वास सिंहले व्यक्त गरेका छन् ।


सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिकता, नैतिकता, इमानदारिता र अविचलित रूपमा कर्तव्यपथमा लागि रहने क्षमता हाम्रा सामु स्पष्ट रहेको चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले संगठनमा बहाल रहँदा र सेवा निवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा हामी सबैको गर्वको बिषय हुने तथा संस्थागत हितका लागि आगामी दिनमा उहाँहरूको सल्लाह र सुझावको अपेक्षा रहने बताए ।


आइजिपी थापासँगै एआइजीहहरु हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की र बसन्त कुमार पन्तले अवकाश पाएका छन् ।
त्यस्तै डिआइजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, उमेश रञ्जितकार, गणेश ऐर, प्रकाश अधिकारी, पुरुषोत्तक कँडेल, रामप्रसाद शाह, देवबहादुर बोहरा, राजेन्द्र चौधरी, एसएसपीहरु वीरेन्द्र बस्याल, नवराज भट्ट लगायतले पनि अवकाश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्