काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ । निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात भक्तपुर जिल्लाको मतपत्र छाप्ने काम सुरु हुँदैछ ।
जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा नमूनादेखि ३० वैशाखमा निर्वाचन प्रयोजनका लागि मतपत्रका छपाई कार्य भएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाको मतपत्र छपाईको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्याएको छ । छापिएका मतपत्रमध्ये १८ वैशाखभित्र नै ४९ जिल्लाहरुमा ढुवानी गर्ने काम सम्पन्न गरिसकेको आयोगले आज दोलखा, सिन्धुली र रामेछापका लागि मतपत्रहरु ढुवानी गर्दै छ । ६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले जानकारी दिए ।
स्थानीय तह निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ । निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुँदैछ ।