काठमाडौं । नेपाल प्रहरीको नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह अब्बल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । विसं २०२४ मा दैलेखमा जन्मिएका सिंहले २०४९ साल चैत ११ गते निरीक्षक दर्जाबाट प्रहरी सेवा सुरु गरेका हुन् । यही वर्षको चैत १० सम्म (११ महिना) उनको कार्यकाल रहने छ ।
महानिरीक्षक सिंह विसं २०६२ मा प्रहरी नायब उपरीक्षक, २०६९ मा प्रहरी उपरीक्षक, २०७४ मा प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ मा प्रहरी नायब महानिरीक्षक र २०७८ मा प्रहरी अतिरीक्त महानिरीक्षक भएका थिए ।
राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरी विभिन्न सङ्गठन व्यवस्थापन र क्षमता विकासमा १३ वटा तालिम लिएका सिंहले सुप्रवल जनसेवा श्रीलगायतका पदक प्राप्त गरेका छन् ।
नेपाल प्रहरीको मधेश प्रदेश, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय अपराध महाशाखा हुँदै केन्द्रीय अनुसन्धान ब्यूरोलगायतको कमाण्ड कुशलतापूर्वक सम्हालेको सिंहसँग अनुभव छ ।
महानिरीक्षक भएपछि आर्थिक समृद्धि हालिस गर्ने नेपाल सरकारको सङ्कल्प पूरा गर्न लागिपर्ने बताएका छन् । उनले नेपाल प्रहरीले प्रवाह गर्ने सेवामा गुणस्तरीयता र वृद्धि विकासलाई प्रभावकारी बनाउने तथा सहरकेन्द्रित अपराधको स्वरुपमा भएको तीव्र परिवर्तनले थपिएका चुनौती सामना गर्न प्रहरीलाई आधुनिक बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्तसमेत व्यक्त गरेका छन् ।
अपराध र सुरक्षा चुनौतीका आधारमा मापदण्ड बनाइ सहर र ग्रामीण ‘पुलिसिङ’को अवधारणा अनुरुप सुरक्षित सहर र गाउँ बनाइ आम नागरिकमा प्रहरीको विश्वास वृद्धि गर्नमा रणनीति केन्द्रित गर्ने उनको अठोट रहेको छ ।
साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाई कर्मचारीलाई जवाफदेही बनाउने तथा आपराधिक साँठगाँठ निमिट्यान्न पारी अकर्मण्यता निमूल पार्ने, भ्रष्टाचार नियन्त्रणलगायत सङ्गठन सुधरमा नै आफ्ना कार्यक्रम हुने उनले सुनाएका छन् ।