Logo
Logo

विदुरमा ‘नो भ्यू-टावर, नो डोजर’ : प्रभा बोगटी


प्रभा बोगटी

18.8k
Shares

नुवाकोट । नुवाकोट विदुर नगरपालिका उप-प्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रभा बोगटीले उम्मेदवारी दिएका छन् । उनी माओवादीका शीर्ष नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी हुन् ।

पारिवारिक राजनीतिक पृष्ठभूमिका भएका उनी सानैदेखि राजनीतिमा आवद्ध भएका थिए । जनयुद्ध सुरु भएपछि तत्कालीन सरकार पक्षको धरपकडका कारण घरमा बस्ने र पढ्ने वातावरण नभएपछि उनी युद्धमा होमिएका थिए । उनी चर्चित खारा आक्रमणमा समेत सहभागी भएका थिए ।

शान्ति प्रक्रियामा आएपछि उनी जनमुक्ति सेनाको व्यारेकमा केही समय बसेका थिए । पछि स्वैच्छिक अवकाश लिई पत्रकारितामा लागेका थिए । उनले विभिन्न पत्रपत्रिका र हिमालय टेलिभिजनमा लामो समय समाचार वाचिकाको रुपमा काम गरे । उनी प्रेस सेन्टरको केन्द्रीय सचिवसमेत भए ।

हाल उनी नेकपा (माओवादी केन्द्र) बिदुर नगर कमिटीको अध्यक्ष छन् । स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धनको तर्फबाट विदुर नगरपालिकाको उपमेयरको उम्मेदवार बनेका नेता बोगटीसँग निर्वाचन केन्द्रीत गरिएको कुराकानी प्रस्तुत छ ।

तपाईँले उम्मदवारी दिनुभएको नगरपालिकाका विशेषता के-के हुन् ?

विदुर नगरपालिका प्रमुख व्यापारिक केन्द्र पनि हो । यहाँ रसुवा, धादिङदेखि आम नागरिक स्वास्थ्य उपचार तथा सर–सामान किन्नका लागि आउने गर्दछन् । त्यस्तै यस नगरपालिकाको ऐतिहासिक र पुरातात्विक महत्व पनि छ । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुपूर्व यहाँ बसेर विभिन्न योजनाहरु बनाएका थिए । ती स्थानहरुलाई संरक्षित गरिएको छ । जस्तो नुवाकोट दरबार, पृथ्वीनारायण शाहको निधन भएको स्थान देवीघाटमा उहाँको सालिक बनाइएको छ । विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक सम्पदाहरु छन् ।

तपाईंका चुनावी एजेण्डाहरु के-के हुन् ?

हामीले ठूला कुरा गरेर पूरा नगर्नुभन्दा पनि जति गर्न सकिन्छ त्यति बोलेर जानुपर्छ । नगरभित्रका पाँच विद्यालयहरुलाई नमुना विद्यालय बनाएर अत्याधुनिकीकरण गर्ने, कम्प्युटर कोठाहरु, ल्याबहरुको व्यवस्था गरी अत्याधुनिक प्रविधियुक्त बनाउने योजना छ ।

त्यस्तै एउटा नगरमा एउटा बहुप्राविधिक विद्यालय स्थापना गर्ने भन्ने माओवादी केन्द्र र सरकारको योजनाअनुसार विदुर नगरपालिका वडा नं. १ मा ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय’ स्थापना गरिएको छ । हाल भवन भाडामा लिएर स्कुल सञ्चालन गरिरहेका छौँ । विद्यालयको भौतिक संरचना र विकास कामहरु गरी नगरपालिकामा दक्ष जनशक्ति उत्पादन गर्न विशेष जोड दिइनेछ ।

त्यस्तै नेवार, तामाङ समुदायको बाहुल्यता रहेको यस पालिकामा उनीहरुको मातृभाषा लोप हुने अवस्था छ । त्यसैले मातृभाषाको कक्षा सञ्चालनमा नगरपालिकाले पहल गर्नेछ ।

त्यसैगरी नुवाकोट दरबारलाई फास्ट ट्र्याकबाट विश्व सम्पदा सूचीमा लैजान प्रयास गर्ने, नगरपालिकामा ‘नो भ्यू टावर, नो डोजर’ गर्ने, मुख्य सडकलाई अनिवार्य कालोपत्रे गर्ने र भद्रगोल तरिकाले बाटो खन्न नदिने हाम्रो गठबन्धनको साझा एजेण्डा रहेको छ ।

तपाईंका जितका आधारहरु के-के हुन् ?

विदुर नगरपालिकामा एमालेले नेतृत्व गरिरहँदा जनताले नयाँ सोच, विकासको प्रत्याभूति गर्न पाएनन् । जनताका आवश्यकता र मागहरुको सम्बोधन नहुँदा एमाले नेतृत्वको स्थानीय सरकारप्रति मतदाताहरु रुष्ट बनेका छन् । त्यसको विपरित हामीसँग भएको नयाँ सोच र भिजनप्रति स्थानीय आकर्षित भएका छन् । त्यस्तै, राजनीतिक रुपमा अहिले हामीले प्रतिगमनविरोधी गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका छौं । एमाले नेतृत्वले गरेको गलत कामको जनताले पनि मूल्यांकन गरेका छन् ।

पटक–पटक संविधानमाथिको प्रहारलगायत एमालेले एकपछि अर्काे गलत काम गर्दै आएको जनताले बुझेका छन् ।
यस पालिकामा मेयरका उम्मेदवार राजन श्रेष्ठ हुनुहुन्छ, उहाँ युवा । म पनि महिला अनि युवा । हामीमा काम गर्ने जोश जाँगर छ । हाम्रो प्रतिनिधित्वप्रति युवा र महिला समुदायको अत्यधिक आकर्षण छ ।

पालिकामा भ्रष्टाचारको अवस्था कस्तो छ ?

देशव्यापी मौलाएको भ्रष्टाचारबाट विदुर नगरपालिका पनि अछुतो हुन नसकेको छैन । नगरपालिकाको विकासका बजेटहरु पारदर्शी ढंगले खर्च हुन सकेको छैन । वडा नं. १३ मा कागती लगाउने योजनामा पालिकाले बजेट खर्च ग¥यो । तर जनस्तरबाटै यहाँ व्यापक भ्रष्टाचार भयो भन्ने आवाज उठिरहेको छ ।

नगरपालिकाभित्र जाँदा पनि आफ्नो वा आफ्नो पार्टीको हो कि होइन भन्ने आधारमा वार्षिक बजेट सीमित व्यक्तिहरुको पहुँचमा मात्रै पु¥याउने काम भएको छ । यस्तो भ्रष्टाचारको अवस्था जनताले पनि महशुस गरेका छन् । हामी राजनीतिक दलहरुले पनि बारम्बार यसबारे सचेत गराइरहेका छौं । हामी अबको निर्वाचनबाट नगरको नेतृत्वमा आएपछि विगतमा भएका भ्रष्टाचारको उचित छानविन गर्नुका साथै आगामी दिनमा विदुर नगरपालिकालाई भ्रष्टाचाररहित नगर बनाएर उदाहरणीय बनाउनेछौं ।

प्रस्तुति : पुष्पा महरा


प्रतिक्रिया दिनुहोस्