एजेन्सी । भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्यमा गर्मी अत्यधिक बढेको छ । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियस बढी उकालो लागेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार तातो हावा र गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ ।
भारतको मौसम विभागले आउँदो चार/पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ । तापक्रम वृद्धिसँगै तातो हावा चल्न थालेपछि भारत सरकारले अलर्ट जारी गरेको छ । ‘लु’ र गर्मीबाट जोगिन राष्ट्रिय कार्य योजनाको निर्देशन पालना गर्न केन्द्र सरकारले आग्रह गरेको छ । देशको पश्चिमी, मध्य र उत्तरी क्षेत्रमा तापक्रम अझै बढ्ने अनुमान गरिएको भन्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले ‘लू’ बाट जोगिने सबै उपाय अपनाउन निर्देशन दिएको छ । योसँगै स्वास्थ्य मन्त्रालयले आउँदो १५ तारिखसम्म ‘लु’ बाट जोगिन आवश्यक उपाय अपनाउन अपील गरेको छ ।
यसैबीच, सबै राज्यका स्वास्थ्य केन्द्रमा ‘लु’ सँग सम्बन्धित बिरामीको उपचारका लागि आवश्यक पर्ने औषधिको व्यवस्था गर्न र बिरामीको समयमा नै उपचार गर्न पनि निर्देशन दिइएको छ । त्यस्तै, स्वास्थ्य केन्द्रमा खानेपानी र बिजुलीको आपूर्तिलाई पनि सुनिश्चित गर्न भनिएको छ ।