काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ महानिरीक्षक नियुक्त ग¥यो । सोही दिन राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ आइजिपी नियुक्त गर्ने बताइपनि निर्णय हुन सकेन ।
स्रोतका अनुसार कसलाई बढुवा गर्ने भन्ने कुरा नमिलेकै कारण निर्णय हुन नसकेको हो । गुप्तचरमा ११ बैशाखदेखि एआइजीको पद रिक्त छ । समयमै रिक्त पदमा बढुवा नहुँदा अनुसन्धान निर्दशक(डिआइजी)हरु चुनावको बेला काम नै छाडेर नेताको घर दौडिरहेका छन् ।
एक एआइजी पदमा सात डिआइजी प्रतिस्पर्धामा छन् । हुतराज थापा वरियताको पहिलो नम्बरमा तथा ओम जोशी दोस्रो नम्बरमा छन् । त्यस्तै, टेकेन्द्र कार्की, हरिहर शर्मा पौडेल, सुनिल ढकाल, कुलदेव थापा, सुमन बैद्य पनि शक्तिकेन्द्र धाइरहेका छन् ।
अहिले एआइजीमा बढुवा हुने व्यक्ति नै भदौमा विभागको प्रमुख हुने भएकाले चर्काे प्रतिस्धर्पा परेको हो । सोही कारण प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय गर्न सकेका छैनन् ।
सातै जना डिआइजीले सत्तारुढ गठबन्धनका विभिन्न नेतालाई समाएर बढुवाका लागि लबिइङ गरिरहेका छन् । बढुवामा ढिलाई हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।
उता अहिलेका प्रमुख यदुलाल खरेल निकै कमजोर भएको चर्चा संगठनमा छ । उनले रिक्त पदमा बढुवाको प्रक्रिया पनि सुरु गरेका छैनन् ।
विभागमा एसपी र डिएसपीका पद महिनौंदेखि रिक्त छन् । ती पदमा बढुवाका लागि अनावश्क दबाब आएको भन्दै उनले निर्णय गर्न नसकेका हुन् । यसले विभागका अधिकृतहरुको करिअरमा दख्खल पुगेको छ ।