Logo
Logo

खोपाको भीमसेन


शम्भु श्रेष्ठ

0
Shares

शम्भु श्रेष्ठ

सधैँझै यस पटक पनि असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती मनाइयो । मदन भण्डारी भन्नासाथ मलाई बागबजार पार्टी कार्यालयको सम्झना आउँछ । हरेक दिन बिहान डेरामा खाना खाएपछि पार्टी कार्यालय आउने र दिनभर नेता, कार्यकर्तासँग व्यस्त रहने उनको दैनिकी थियो । नक्साल डेराबाट उनी साइकल चढेर बागबजार आउँथे । नक्साल डेरा पनि सामान्य खालको थियो । पाहुनाहरुका लागि डेरामा बेदवासका चारवटा कुर्सी थिए । बागबजारमा पनि उनको कार्यकक्ष सामान्य थियो । भण्डारीलाई भेट्न मेचीदेखि महाकालीसम्मका कार्यकर्ता बिहानदेखि नै झोला बोकेर बाटोमा कुरिरहेका हुन्थे । भण्डारी आउनासाथ ती कार्यकर्तालाई बाटोमै अभिवादन गर्दै आफ्नै हातले डोहो¥याएर कार्यकक्षसम्म पु¥याउँथे । भण्डारीसँग भेट्न पाइएन भन्ने गुनासो कुनै कार्यकर्ताको मुखबाट सुन्न पाइँदैन थियो । भण्डारीसँग प्रायः जीवराज आश्रित, माधव नेपाल, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारी, अमृत बोहरा, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, अष्टलक्ष्मी शाक्य, कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरुसँगै हुन्थे । पार्टीका शीर्ष नेताहरु दिनहुँ पार्टी कार्यालयमा आउँथे । नेता कार्यकर्तासँग विविध विषयमा छलफल गर्थे । भण्डारीको कार्यकक्षको माथिल्लो तल्लामा सानो बैठक कोठा थियो । त्यो बैठककोठामा हरेक दिन कुनै न कुनै बैठक बसिरहेको हुन्थ्यो । भण्डारी पनि कतिपय बेला बैठकलाई ऊर्जा दिन माथिल्लो कोठामा उक्लिन्थे । उनको यस्तो व्यवहारले कार्यकर्तामा ऊर्जा थपिन्थ्यो । कतिपय बेला भण्डारीले बैठकका कार्यकर्तालाई आफ्ना सुझाव दिन्थे र भन्थे– म त यसै उक्लेको हुँ । बैठक बस्नुस्, छलफल गर्नुस् र एकमतमा पुगेर मात्रै निर्णय गर्नुस् । ताकि तपाईंहरुको छलफल सार्थक बनोस् ।

शम्भु श्रेष्ठ

त्यतिबेला भण्डारीका पछाडि न त सुरक्षाकमीको लावालस्कर हुन्थे, न त सरकारी गाडीको ताँती नै । टुँडिखेलको आमसभामा जाँदा पनि भण्डारी कार्यकर्ताहरुको घेरामा पैदलै हिँडेर खुलामञ्च पुग्थे । उनको सुरक्षामा प्रायः मैले जिफन्टका विनोद श्रेष्ठलाई देख्ने गरेको थिएँ । कहिलेकाहीँ कार्यकर्ताको मोटरसाइकल पछाडि बसेर उनी हिँड्थे । बागबजारबाट सिंहदरबार जानु पर्दा मात्र उनको घरबेटी शैलेन्द्रजंग थापाले आफ्नो रातो कारमा पु¥याउने गर्थे ।

साँच्चै नै भण्डारी सादा जीवन, उच्च विचारका धनी नेता थिए । उनको यही सादगीले उनी कार्यकर्ताको प्रिय बने । नेकपा मालेको महासचिव, काठमाडौँ १ को सांसद भएर पनि उनले आफूलाई पदको वरपर कैद गरेनन् । माक्र्सवादीसँग पार्टी एकता गर्दा आफूभन्दा पाका नेता मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाए । आफ्ना प्रतिद्वन्द्वी सीपी मैनालीलाई संसदीय दलको उपनेता बनाए । उनले जीवनमा गुट होइन, सिंगो पार्टी चलाए । जसका कारण अन्य समकालीन नेताहरु भण्डारीसामु ‘चुँ’ पनि गर्न सक्दैन थिए । उनी धेरै सोच्थे, कम बोल्थे । जे बोल्थे सही कुरा बोल्थे । उनका कतिपय शब्द आज पनि महावाणी जस्तो लाग्छ । भाषा, शैली र प्रस्तुतिमा उनी पोख्त थिए । आफूलाई लागेको कुरा उनले लेखेर झोलामा राख्थे । कहिलेकाहीँ दृष्टि साप्ताहिकको कार्यालयमा आएर मेरो यो लेख छ है भनेर छाड्थे । पत्रकारिता उनको रुचिको विषय थियो । कसैले उनका विरुद्ध केही लेख्यो भने, त्यसको जवाफ तयार पारेर उनी बस्थे । त्यतिबेला दृष्टि हरेक बुधबार बिहान निस्कन्थ्यो । हरेक मंगलबार बेलुकी प्रिन्टमा पठाउनु अगाडि भोलिको ‘दृष्टि’मा के–के सामग्री छापिँदैछ भन्ने कुरा टेलिफोनबाट पढेर सुनाउनु पथ्र्यो । कतिपय बेला सामग्री नै डेरामा पु¥याउनुपथ्र्यो । दृष्टि पार्टीको अघोषित मुखपत्र भएकोले उनी त्यसप्रति उत्तरदायी मात्र होइन, जिम्मेवार पनि थिए ।

अहिले समय फेरिएको छ । दुईतिहाइको सरकार छ । पार्टी अध्यक्ष पार्टी कार्यालयमा भेटिँदैनन् । पार्टीका महत्वपूर्ण बैठक ठूला रिसोर्टहरु, मेडिकल माफियाहरुको घरमा हुने गरेको छ । नेताहरुले पार्टी कार्यालयलाई भन्दा आफ्नो निवासलाई महत्व दिने गरेका छन् । पार्टी कार्यालय मसानघाटजस्तो बनेको छ । कहिलेकाहीँ कुनै कार्यक्रममा पार्टी अध्यक्ष पार्टी कार्यालय पुगे पनि कार्यकर्ताको गुनासो सुन्ने फुर्सद उनीहरुलाई छैन । कार्यक्रम सकिनासाथ सुरक्षाघेरामा साइरन बजाउँदै हुँइकिन्छन् । कम्युनिष्ट पार्टीका नेता र बुर्जुवा पार्टीको नेताबीचको भिन्नता यतिबेला कार्यकर्ताले छुट्याउन सकेका छैनन् । नेता जननेताजस्तो नभएर उनीहरुको शैली महाराजाको जस्तो बनेको छ ।

हरेक नेताहरु वाकीटकीसहित पिएसओ लिएर हिँड्ने गरेका छन् । पार्टी अध्यक्षलगायत नेताहरु साइरन बजाउँदै सुरक्षाघेराभित्र यताउता कुद्ने गर्छन् । जनताले के भन्छन् भन्ने कुराको हेक्का राख्दैनन् । पार्टीभित्र वैचारिक बहस शून्यको अवस्था छ । एमाले र माओवादी एक भएपछि शीर्ष नेताहरुनै बेरोजगार बनेका छन् । मेचीदेखि महाकालीसम्मबाट आएका कार्यकर्ता महिना दिन कुर्दासमेत पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले भेट दिँदैनन् । प्रधानमन्त्री ओली सानो घेरामा रमाइरहेका छन् । उनलाई मदन भण्डारीको शब्दमा ‘खोपाको भीमसेन’ बनाइएको छ । पार्टी अध्यक्षको अनुहार हेर्नुप¥यो भने टेलिभिजन हेर्नुपर्ने अवस्थामा पार्टीलाई पु¥याइएको छ । त्यसैले मदन भण्डारीको जन्मजयन्ती मनाइरहँदा उनको प्रशंसा गर्ने नेताहरुले उनको प्रशंसा गरेर समय खेर फाल्नुभन्दा उनको जीवनबाट केही कुरा सिके भने त्यो देश र जनताको लागि काम लाग्ने थियो ।

प्रतिक्रिया दिनुहोस्