Logo
Logo

एमालेबाट मैले पटक-पटक धोका पाएँ


प्रेमबहादुर तामाङ, निवर्तमान अध्यक्ष, खाँडादेवी गाउँपालिका

8.9k
Shares

काठमाडौं । नेकपा (एमाले)ले कामको मूल्याङकनका आधारमा स्थानीय तह निर्वाचनमा टिकट नदिएपछि एमाले कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि छाएको छ । उचित मूल्याङन नभएको भन्दै लामो समय एमालेमा बिताएकाहरु एमालेबाट धमाधम विद्रोह गरिरहेका छन् । जनप्रतिनिधिहरूले नै विद्रोह गर्न थालेपछि एमाले रक्षात्मक अवस्थामा पुगेको छ । इमान्दार नेतालाई भन्दा चाकरी गर्नेलाई एमाले नेतृत्वले रोजेपछि सच्चा कार्यकर्ताको मन कुँडिएको छ । रामेछापको खाँडादेवी गाउँपालिकालाई बागमती प्रदेशकै नमुना गाउँपालिका बनाएका प्रेमबहादुर तामाङले टिकट पाएनन् । जबकि, एमालेले स्थानीय तहमा धेरै उम्मेदवारलाई दोहोर्याएको छ । उनै तामाङसँग दृष्टिले गरेको कुराकानी प्रस्तुत छ :

चुनावको मुखमा आफ्नै पार्टी नेकपा (एमाले)सँग असन्तुष्टि किन बढ्यो ?

जहाँ जनताप्रति समर्पित कार्यकर्ताको मूल्याङकन हुँदैन, त्यस्तो पार्टीमा बस्नु समयको बर्वादी मात्रै हो । जनताप्रति समर्पित भएर काम गरेकै कारण रामेछापको खाँडादेवी गाउँपालिकालाई वित्तीय र भौतिक पूर्वाधारको हिसावले देशकै नमूना गाउँपालिका बनाउन सफल भएँ । सफलताको जुन परिणाम आयो, त्यसलाई पार्टी नेताले मनन् गर्न सकेनन् । दुःख गरेर मैले भौतिक पूर्वाधार निर्माण गरिरहँदा, ऐन, कानुन बनाइरहँदा पनि एमाले नेतृत्वबाट सहयोग भएन । जसले विकास–निर्माण र सेवा प्रवाहको विरोध मात्रै गरिरहेको थियो, त्यही व्यक्तिलाई च्याप्ने काम एमालेले गरेको छ । कामको आधारमा होइन, नेताको खल्तीबाट नाम निकालेर टिकट दिने व्यक्तिवादी चरित्र एमालेमा मौलाएको छ ।

नमूना गाउँपालिका बनाउने गरी खाँडादेवीमा के–के काम गर्नुभयो ?

नेपाल सरकारबाट उत्कृष्ट काम गर्ने गाउँपालिकाको सम्मान खाँडादेवीले पाएको छ । यो हाम्रो लागि गौरवको कुरा हो । छोटो कुराकानीको क्रममा सविस्तार सबै काम उल्लेख गर्न नसकिएला । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई आत्मसात गरेर मैले गाउँपालिकामा विकास गरेँ । ‘सुन्दर, सभ्य, समृद्धि खाँडादेवी’ बनाउने भिजनसहित काम गरेका छौँ । दीर्घकालिन र आवधिक योजनाहरू बनाएका छौँ । गुरु योजना बनाएरै काम गरेका छौँ । देशकै नमुना गाउँपालिका बनाउँदै गर्दा पनि ममाथि नेतृत्व किन अनुदार बन्यो भन्ने पत्ता लगाउन बाँकी छ । ‘सुन्दर, सभ्य, समृद्धि खाँडादेवी’ को गुरुयोजना पूरा गरेरै छाड्ने मेरो अठोट छ ।

ठोस काम चाहिँ के-के गर्नुभयो ?

महाभूकम्पले जनताको आवास थिलथिलो भएको अवस्थामा आवास पुनःनिर्माणको काम द्रुत गतिमा भएको छ । पुनःनिर्माणको क्रममा जनताले सडकको माग गरे । हामीले गुरुयोजना नै बनाएर ४७५ किलोमिटर सडक ट्याक खोलेर जनताको घरदैलोमै सडक पुर्याएका छौँ । २५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

दोस्रो, गाउँपालिकालाई हामीले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेका छौँ । खाडाँदेवी मन्दिरको १० वर्षे गुरुयोजना बनाएर पुनःनिर्माण गरेका छौँ । विश्वमित्र गुफाको पनि पुनःनिर्माण गरेर पर्यटकीय स्थलको रुपमा विकास गरेका छौँ । गोगनपानीमा गुम्बा निर्माण गरेका छौँ । अव्यवस्थित रहेको स्वास्थ्य चौकीलाई व्यवस्थित बनाएका छौँ । भौतिक पूर्वाधार पनि निर्माण गरेका छौँ । प्रसुतीका लागि गाउँपालिकाभरी नै निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ । १५ शैयाको अस्पताल निर्माण गरेका छौँ ।

शिक्षामा पनि १० वर्षे गुरुयोजना बनाएर काम गरेका छौँ । निजी र सामुदायिक विद्यालयमा फरक नहुने गरी पठनपाठनको व्यवस्था थालनी गरेका छौँ ।

गाउँपालिकामा स्मार्ट भिलेजको अवधारणमा रहेर सबै विद्यालय, सवै स्वास्थ्य संस्था, सबै वडा कार्यालय र पर्यटकीय स्थलहरू गरी ११४ ठाउँमा निःशुल्क वाइफाइको व्यवस्था गरेका छौँ । खाँडादेवी उज्यालो अभियान अन्तर्गत सबै बस्तीमा विजुली पुगेको छ । कृषिमा पकेट क्षेत्र बनाएर काम गरेका छौँ ।

पार्टी नेतृत्वले यो कुरा किन बुझेन त ?

पार्टी नेताहरूले आफ्नो खल्तीको मान्छेलाई टिकट दिनका लागि मेरो कुराको सुनुवाई गर्न आवश्यक ठानेनन् । जिल्ला इन्चार्ज, प्रदेश इन्चार्जलाई पनि मैले ‘अधुरो काम पूरा गर्न दिनुस्’ भनेको थिएँ । राम्रो काम गर्ने मध्येको एक पालिका हो खाँडादेवी गाउँपालिका । मैले टिकट किन पाइनँ भन्ने जानकारीसमेत नेतृत्वले दिएन । मेरो मन धेरै दुख्यो । मैले नेतृत्वलाई प्रश्न गरेँ– मैले के गल्ती गरेँ ? नेताहरूले जवाफ नै दिन सकेनन् । म प्रदेश कमिटीको सदस्य पनि हुँ । प्रदेश कमिटीको छलफलमा पनि मलाई आफ्नो कुरा राख्ने अवसर दिइएन । मलाई अपमानित गर्ने काम पार्टी नेतृत्वबाट भयो । मैले गरेको योगदानको कुनै अर्थ नै छैन त ?

पार्टीले जहिल्यै एउटै व्यक्तिलाई मात्र टिकट दिनुपर्ने हो र ?

जनताले राम्रो काम गर्ने उम्मेदवारलाई रोज्छन । संविधानले पनि गाउँपालिका अध्यक्षमा एक पटक दोहोरिन पाउने सुविधा दिएको छ । मैले थालेका केही काम पूरा हुने क्रममा रहेकाले त्यसको पूर्णताका लागि एक पटक दोहोरिने इच्छा जनाएको हुँ । अन्य धेरै ठाउँमा जनप्रतिनिधि दोहोरिएको उदाहरण पनि छ । के दोहोरिन चाकरी नै गर्नुपर्ने हो र ? नेताको खल्तीकै मान्छे हुनुपर्ने हो र ?

एक पटक टिकट नपाउँदैमा यति गम्भीर आरोप लगाउनु कति जायज हो ?

अहिले मात्र होइन, मलाई नेतृत्वले पटक–पटक धोका दिएको छ । महाधिवेशनमा केन्द्रीय सदस्यमा दाबेदारी प्रस्तुत गरेको थिएँ । तर, मलाई ‘भूगोलमा सक्रिय मानिस चाहिन्छ, जिल्लामा बसेर काम गर्नुस’ भनियो । त्यसपछि जिल्ला अधिवेशनमा मैले अध्यक्षको दाबी गरेँ । त्यतिबेला फेरि नेतृत्वले भन्यो, ‘तपाईं गाउँपालिकामा दोहोरिनुपर्छ । तपार्इंले नै गाउँपालिका चलाउनुपर्छ, अहिले जिल्ला पार्टी अध्यक्षमा दाबी नगर्नुस ।’ अन्तिममा मलाईं गाउँपालिकामा पनि अन्तरघात गरियो । सँगै राखेर छुरी रोप्ने काम नेतृत्वबाट भयो ।

एमालेले त आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्छ । तपाईंमाथि यो हदसम्मको अन्याय किन ?

राष्ट्रिय राजनीतिको मूलमियो भएर राज्यसत्ता संचालन गर्ने अवसर पाएर पनि चरम व्यक्तिवादी स्वेच्छाचारिता, गुटगत संक्रिर्ण मानसिकता, अदूरदर्शी र अपारदर्शी क्रियाकलाप, सर्वसत्तावादी सोच, अधिनायकवादी कार्यशैली, कोठे राजनीति, षडयन्त्रकारी आचरणका कारण सुदृढ र एकतावद्ध पार्टीमा विभाजन आइ सिंगो कम्युनिष्ट आन्दोलन र मुलुकले क्षति व्यहोर्नुपरेको हो । जिल्लामा मात्रै होइन, प्रदेश र देशमा नै उत्तम क्षेणीमा खाँडादेवी गाउँपालिकालाई मैले विकास गरेकै हो ।

मेरो विकासवादी क्रियाशीलता, परीणामुखी काम र जनमैत्री सुशासनबाट अन्य दलमात्रै होइन, मेरै दलका अग्रज भनिनेहरू नै आत्तिएको, ईष्यालु बनेको र बेलाबखतमा तंगारो बनेको मैले महसुस गर्दै आएको थिएँ । अहिले औचित्यपूर्ण उम्मेदवारीलाई ओझेलमा पार्ने गरी पार्टी कार्यकर्ता, समर्थक र आमजनताको चाहना विपरित अत्यन्त गैरराजनीतिक र अविवेकी निर्णय भएपछि एउटा राजनीतिक कार्यकर्तालाई असैह्य भएको छ ।

यसबारेमा नेतृत्वसँग कुरा गर्नुभएन ?

म लामो समयदेखि वामपन्थी आन्दोलनमा लागेको मानिस हुँ, त्यसको मूल्यांकन एमाले नेतृत्वले गरेन । मलाई असैह्य भयो । आत्मा रोयो । दुई दिनसम्म म कोठामै बसेँ । अनि, गाउँपालिका अध्यक्षबाट राजीनामा दिएँ ।

एमालेले नारा त ‘समृद्ध नेपाल, सुखी नेपाली’ दिएको छ । तर, कामले नै प्रमाणित गरेको विकासवादी नेतालाई एमालेले किन रुचाएन ?

यसपाली अरु पार्टीबाट प्रवेश गराएकालाई पनि एमालेको तत्कालै टिकट दिएको छ । तर, गाउँपालिकामा सफल भएको कार्यकर्तालाई एमालेले चाहेन । म जनताको सामू जाँदै छु । जनताको मतको सम्मान गर्नका लागि र अधुरा काम पूरा गर्नका लागि मैले दाबेदारी प्रस्तुत गरेको हुँ । तर, नेतृत्वले मेरो कुरा सुन्नै चाहेन ।

नेतृत्व भनेर कैलाश ढुंगेल, माधव ढुंगेललाई भन्न खोज्नुभएको हो ?

म व्यक्तिलाई किटान गरेर त भन्दिनँ । व्यक्तिलाई म लान्छना पनि लगाउँदिनँ । जुन हैकमवादी प्रवृत्ति देखा पर्याे, त्यसको विरुद्धमा म उभिएको हुँ । मैले भनेपछि हुनैपर्छ भन्ने व्यक्तिवादी, हैकमवादी चरित्र एमालेमा देखियो । मैले काम गरेर देखाइसकेको छु, सफल भएको छु, जित्न सक्छु भन्ने जान्दाजान्दै ममाथि अन्याय भयो । एमालेको भनाइ र गराईमा आकाश जमिनको फरक भएको छ । भन्नका लागि जित्नेलाई उम्मेदवारी दिने भन्ने पार्टीले मजस्ता कार्यकर्तालाई पाखा लगाउँछ मिल्छ ? कार्यकर्ताले गरेको राम्रो कामको मूल्यांकन पार्टीले गर्नु पर्दैन ?

एमालेले टिकट त कार्यकर्तालाई नै दिएको होला नि ?

काठमाडौँमा बस्ने, पेशा व्यवसाय गर्नेलाई एमालेले रोज्यो । गाउँमा बसेर जनताको सुख, दुःखमा साथ दिएका, बस्तीबस्तीमा पुगेका कार्यकर्तालाई पाखा लगाउने काम एमालेले गरेको छ । काम गर्ने इमान्दार कार्यकर्तालाई बाइपास गरेर अकूत पैसा कमाएको भरमा टिकट दिने काम भएको छ । हामी पनि व्यवसाय गरेको भए पैसा कमाउन सक्थ्यौँ होला । म त व्यवसाय नगरी जनताको काम गरेर बसेँ । जनताको सेवामा समर्पित कार्यकर्तालाई पार्टीले पुरस्कार दिनुपर्नेमा दण्ड दिने काम भएको छ ।

तपाईंको काम देखेर माथिल्लो तहका नेताहरूले निषेध गरेका हुन त ?

त्यो पनि हुन सक्छ । मैले गरेको काममा जनता प्रभावित छन् । तपार्इं आएर जनतालाई सोध्नुभए हुन्छ, ९९ प्रतिशत जनताले मैले गरेको काम रुचाएका छन् । विपक्षीहरूले समेत मेरो कामको प्रशंशा गरेका छन् ।

एमालेमा कामको मूल्याङकन हुन छाडेर व्यक्तिवाद हाबी भएको हो ?

एमालेमा व्यक्तिवाद हाबी भएको प्रस्टै देखिन्छ । आफ्नै कार्यकर्ताले गरेको राम्रो काम देख्न नसक्ने नेता भएपछि कस्तो पार्टी बन्ला ? २०५१ सालदेखि म निरन्तर पार्टीमा क्रियाशील छु । द्धन्दकालमा जीवनको समेत प्रवाह नगरी मैले पार्टी बचाउने काम गरे । निरन्तर जनताको सेवामा लागिरहेँ । तर, आज व्यक्तिवादी अहंकारले गर्दा जनताको सेवामा समर्पित कार्यकर्ता अन्यायमा पर्नुपर्ने अवस्था आएको छ ।

प्रेम तामाङको व्यक्तिगत प्रभावभन्दा एमालेको संगठनको कारण २०७४ को निर्वाचन जितेको दाबी गर्छन नि ?

बलियो संगठन कसले बनायो भन्ने पनि हेर्नुपर्छ होला नि । २०५१ सालदेखि टोलटोल, बस्तीबस्ती गएर हामीले नै संगठन बनाएको होइन र ? हचुवाको भरमा संगठन बनेको त होइन होला । एमालेको अहिलेको उम्मेदवार (ज्ञानकुमार श्रेष्ठ) जस्तो काठमाडौँमा महल ठड्याएर बसेको कार्यकर्ता होइन म । गाउँगाउँमा संगठन बनाउन रगत, पसिना बनाएको कार्यकर्ता हुँ । जनतामा समर्पित कार्यकर्तालाई पन्छाएर सुख सुविधामा भुलेकालाई पुरस्कृत गर्ने काम भएको छ । जनताको आवश्यकता र मागको आधारमा काम गर्नुपर्छ भनेकै कारण काठमाडौँमा मेरो महल छैन । म सँग पैसा पनि भएन । त्यही कारण मैले एमालेबाट टिकट पाइनँ । यदि, मैले टन्न पैसा कमाएको भए सायद, मैले दोहोर्याउने अवसर पाउने थिए होला ।

एमालेले दलाल, विचौलिया, अवसरवादीलाई मात्र रोजेको हो त ?

तपाई हामी सबैले देखेकै छौँ नि– एमालेले कस्ता व्यक्तिलाई टिकट दिएको छ । पार्टीमा निरन्तर क्रियाशील, जनताको सेवामा समर्पितलाई टिकट नदिई गाउँमै नबसेका व्यक्तिलाई टिकट दिएको छ । नेताको घर धाउनेले मात्रै टिकट पाउने अनि दिनरात जनताको सेवा गर्नेहरू पीडित भइराख्नुपर्ने अवस्था एमालेमा आएको छ । यस्तो प्रवृतिविरुद्ध सच्चा कार्यकर्ताले आवाज उठाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्