Logo
Logo

ईयूले गर्यो रुसी इन्धन निषेध गर्ने प्रस्ताव, युद्ध अपराध नियन्त्रण हुने दाबी


1.4k
Shares

एजेन्सी । युरोपियन युनियन (ईयू) ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ ।

युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरण गर्न रुसी खनिज तेल पूर्णरूपमा निषेध गर्ने र युद्ध अपराधका संदिग्धहरूलाई प्रतिबन्ध लगाउनेसहितका कडा कदम चाल्ने प्रस्ताव गरेका बीबीसीमा उल्लेख छ ।

आउँदो ६ महिनाभित्र रुसी कच्चा तेल रोक्ने र चरणबद्ध रूपमा अरू प्रतिबन्धहरू लगाउने उनको प्रस्ताव छ । युरोपेली संसद्लाई सम्बोधन गर्दै अध्यक्ष लेयनले ईयूको कदमले रुसका सबै युद्धअपराधीहरूलाई जवाफदेही बनाउने बताए ।

ईयूले रुसी तेल र ग्यासबाट आफूलाई कसरी छुटकारा दिने भन्नेमा हप्तौँदेखि छलफल गरिरहेको छ । ईयूले सन् २०२२ को अन्त्यसम्ममा रुसबाट ग्यास आयात दुई तिहाइले घटाउने वाचा गरिसकेको छ ।

अहिले रुसी तेलमा निर्भर स्लोभाकिया र हंगेरीलाई वैकल्पिक आपूर्तिकर्ता खोज्न थप एक वर्ष दिइनेछ । तर, हंगेरियन सरकारका प्रवक्ताले रुसी ग्यास विस्थापनको योजना वा ग्यारेन्टीहरू नदेखिएको बताएका छन् ।

ईयूको योजना कार्यान्वयन गर्न सदस्य राष्ट्रको स्वीकृति चाहिन्छ । ईयूले यसअघि रुसी बैंकको कारोबारलगायत अरू थुप्रै प्रतिबन्धहरू लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्